
बागलुङका अधिकांश ग्रामीण सडक तीन महिनादेखि अवरुद्ध छन् । वर्षाका कारण ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएका सडक वर्षा नरोकिँदा स्थानीय तहले खुलाउन सकिरहेका छैनन् ।
चार नगरपालिका र छ गाउँपालिका रहेको बागलुङमा अधिकांश बस्तीसम्म सडक पुगे पनि हिउँदको समयमा यातायात सञ्चालन हुन्छन्, बर्खाको करिब चार महिना ठप्प हुन्छन् ।
बर्खामा सबैभन्दा कम तमानखोला गाउँपालिकामा सवारी साधन सञ्चालन हुने गरेको स्थानीय बताउँछन् ।
तमानखोलामा गाउँपालिकाको केन्द्र बोङ्गा दोभान बजारबाट वडा नं १ को स्याउला, पहिरागाउँ, वडा नं ३ को तमान, ४ को हिले लाम्मेला, वडा नं ५ को खुङ्खानीथास्पुरी र वडा नं ६ को नर्जाखानी, भित्रिवनपात्ले लगायत गाउँमा पुग्ने सडक ठप्प भएका तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिनुभयो ।
जिल्लाका ग्रामीण सडकमा स्थानीय खोलामा पानीको बहाव नघट्दा सम्म सञ्चालनमा आउनसक्ने स्थिति नरहेको उहाँले बताउनुभयो ।
असोजको अन्तिम सातासम्म खोलामा पानीको बहाव घट्ने र पहिरोले अवरुद्ध भएको सडक खुलाएपछि सवारी साधन सञ्चालनमा आउने बुढामगरले बताउनुभयो ।