काठमाण्डौँ , असोज १६ :

ठूलो विपत्तिको सामना गरेर केही दिन खुलेको मौसममा आजदेखि कोशी प्रदेशबाट फेरि बदली सुरु भएको छ । 

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशीमा बादलले ढाकिसकेको र त्यसको असर कोशी सहित मधेश प्रदेश, बागमती र गण्डकीसम्म देखिने जनाइएको छ । 

मौसमविद् प्रतिभा मानन्धरले बादल लाग्ने र हल्कादेखि मध्यम वर्षा हुने बताउनुभयो । विशेष गरी कोशी प्रदेशमा हल्का र मध्यम वर्षा हुने छ भने मधेश, बागमती र गण्डकी प्रदेशसम्मै फैलिने छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा कम नै छ ।

यो असर भोलि र पर्सीसम्मै रहने जनाइएको छ । तर ठूलो अनि लगातारको वर्षा भने नहुने उहाँले बताउनुभयो । 

तर यस अघिको वर्षाले देशका सबै भूभाग गलेको हुँदा थोरै पानी पर्दा पनि बाढीपहिरोको सम्भावना रहेको जनाइएको छ । 

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । भारतको मध्य प्रदेश र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको उहाँले बताउनुभयो ।