काठमाडौ, चैत ७ :

२०औँ शताब्दीको सुरुवाततिर जब चिकित्सा क्षेत्र अझै पनि मुख्यतः पुरुषहरूको नियन्त्रणमा थियो र युरोपेली संस्थाहरूले महिलाहरूका लागि आफ्ना ढोका प्रायः बन्द राखेका थिए,उपनिवेशकालीन भारतको बंगालबाट आएकी एक युवती डाक्टरले त्यस्ता कठिन अवरोधहरू तोडिन्।

सन् १९१२ मा जामिनी सेन ग्लासगोस्थित रोयल कलेज अफ फिजिसियन्स एण्ड सर्जनस अफ ग्लेसगोको ‘फेलो’ बन्ने पहिलो महिला बनिन् ।यो संस्था सन् १५९९ मा स्थापना भएको थियो र लामो समयसम्म महिलाहरूका लागि बन्द थियो।

तर आधुनिक चिकित्सा क्षेत्रका धेरै अग्रणी व्यक्तित्वहरूजस्तै उनको कथा भने व्यापक रूपमा ओझेलमा पर्‍यो।

अहिले एक शताब्दीभन्दा बढी समयपछि सेनको अद्भुत जीवन नेपालका दरबार अस्पतालहरूदेखि बेलायतका परीक्षा हलहरू र उपनिवेशकालीन भारतका महामारीग्रस्त सहरहरूसम्म फैलिएको उनकी भान्जी दीप्ता रोय चक्रवर्तीले लेखेको नयाँ जीवनी डक्ट्रिन जामिनी सेनमा पुनर्निर्माण गरिएको छ। डक्ट्रिन उत्तर भारतीय भाषाहरूमा महिला डाक्टरलाई जनाउने शब्द हो।

यो जीवनी सेनका पत्रहरू, डायरीहरू, उनले आफैं राखेको सानो जर्नल, महिला परिषद् नामक पत्रिकामा प्रकाशित लेख र उनकी दिदी कमिनीले लेखेको संक्षेपमा आधारित छ। यस पुस्तकले स्वतन्त्रतापूर्व बंगालकी तीक्ष्ण बुद्धि र साहसी संकल्प भएकी एक महिलालाई इतिहासमा पुनःस्थापित गरेको छ।

सन् १८७१ मा बंगाल प्रेसिडेन्सीको बारिसालमा एक प्रगतिशील परिवारमा सात दाजुभाइ दिदीबहिनीमध्ये एकका रूपमा जन्मेकी सेनको यात्रा युरोपका प्रतिष्ठित चिकित्सा संस्थानहरूबाट धेरै टाढाबाट सुरु भएको थियो।

कलकत्तास्थित बेथुनी कलेजमा अध्ययन गरेपछि उनले सन् १८९७ मा कलकता मेडिकल कलेजबाट चिकित्सा शिक्षा पूरा गरिन् । त्यतिबेला यो क्षेत्र पुरुषप्रधान मात्र नभई जातीय आधारमा पनि विभाजित थियो।

स्नातक भएपछि उनले आफ्नो प्रारम्भिक करियरलाई परिभाषित गर्ने अवसर पाइन्—नेपालमा शाही परिवारकी हाउस फिजिसियन तथा काठमाडौँको जेनाना अस्पतालकी प्रमुखका रूपमा काम गर्ने।

करिब एक दशकसम्म उनले उच्च स्तरमा चिकित्सा सेवा दिँदै पृथ्वी वीर बिक्रम शाहको विश्वास जितिन् र परम्परागत वातावरणमा आधुनिक चिकित्सा विधिहरू लागू गरिन्।

नेपालमा बिताएका उनका वर्षहरू नाटकीय घटनाहरूबाट मुक्त थिएनन्। दरबारभित्र अस्थिरता र कूको हल्लाबीच उनले अन्ततः देश छोडिन्। उनलाई सम्मानस्वरूप आफ्नो प्रतीक अंकित सुनको घडी दिएका राजाको केही समयपछि रहस्यमय अवस्थामा मृत्यु भए जसमा विष प्रयोग गरिएको आशंका गरिएको थियो। तर उनको महत्वाकांक्षा यत्तिमै रोकिएन।

सन् १९११ मा लेडी डफरिन फन्डको सहयोगमा उनी बेलायत गइन्। डब्लिनमा चिकित्सा लाइसेन्स प्राप्त गरिन्,लण्डन स्कुल अफ हाईजिन एण्ड ट्रपिकल मेडिसिनमा अध्ययन गरिन् र पछि ग्लासगोमा फेलोशिप परीक्षा दिइन्।

रायल कलेजले भर्खरै मात्र महिलाहरूका लागि परीक्षा खुला गरेको थियो। सन् १९१२ मा उनले परीक्षा उत्तीर्ण गरिन् र १५९९ मा स्थापित संस्थाको पहिलो महिला फेलो बनिन्।

तर यो सफलता पूर्ण भने थिएन। कलेजका अभिलेखअनुसार, सेन “पद धारण गर्न असमर्थ थिइन्”, जसको अर्थ उनका अधिकारहरू पुरुष सहकर्मीहरूको तुलनामा सीमित थिए।

अर्की महिला मार्गरिट हग ग्रान्टलाई सो संस्थामा प्रवेश पाउन थप ११ वर्ष कुर्नुपर्‍यो सन् १९२३ मा मात्र।

त्यसपछि उनी सन् १९१२ मा बर्लिनमा गइन्, जहाँ उनले आफ्नो क्लिनिकल ज्ञान अझ गहिरो बनाइन् । त्यो समय महादेशीय युरोप उष्णकटिबन्धीय रोगसम्बन्धी अनुसन्धानमा अग्रपंक्तिमा थियो। यही बौद्धिक जिज्ञासा र बेचैनीले उनको करियरलाई परिभाषित गर्‍यो।

“मेरो देशका दिदीबहिनीहरूप्रति मेरो धेरै जिम्मेवारी छ,” जामिनी सेनले रोयल कलेज अफ फिजिसियन एण्ड सर्जन अफ ग्लासगोका अभिलेखमा भनेकी उद्धृत गरिएको छ।

भारत फर्किएपछि उनले महिला मेडिकल सेवामा काम गरिन् र आग्रा, शिमला र पुरीजस्ता सहरहरूमा सेवा दिइन्।

आग्रामामा ब्रिटिश डाक्टरहरूमाथि लक्षित स्थानीय असन्तोषका बीच सेनलाई स्थिति सम्हाल्न ल्याइएको थियो । एक भारतीय महिला चिकित्सकको रूपमा उनको उपस्थितिले ठूलो भूमिका खेलेको थियो।

महिलाहरू विशेष रूपमा उनलाई खोज्थे; उनीहरू उनलाई विश्वास गर्थे। बिरामीहरूले उनलाई माया गरेर “साडीवाली डाक्टरिन साहिब” भनेर बोलाउँथे।

शिमला र पुरीमा उनले महामारीका प्रकोप र कठिन परिस्थितिहरूका बीच पनि निरन्तर काम गरिरहिन्—जुन अवस्थालाई केही औपनिवेशिक डाक्टरहरूले टार्ने गर्थे।

धेरै युवा आमाहरू प्रसूति पछिको संक्रमणबाट पीडित थिए ।यो गम्भीर समस्यासँग उनले प्रत्यक्ष रूपमा जुधिन्। “मातृ स्वास्थ्यसम्बन्धी अवस्थामा सबैभन्दा ठूलो सुधार भएको छ,” उनले आफ्नो डायरीमा सन्तोषका साथ लेखेकी थिइन्।

उनको पहिरनमै पनि एउटा शान्त आधुनिकता झल्किन्थ्यो।

उनले कामका लागि उपयुक्त शैली अपनाइन्—पिनले मिलाइएको साडी र लेस कलर भएको फुल स्लीभ ब्लाउज—जुन परम्परागत पहिरनभन्दा फरक र अस्पतालको कामका लागि बढी उपयुक्त थियो।

उनको व्यक्तिगत जीवन पनि आफ्नै संघर्षहरूले भरिएको थियो।

नेपालमा रहँदा उनले प्रसूतिको क्रममा आमा गुमाएकी एक बालिका ‘भुटु’ लाई दत्तक लिएकी थिइन्। महिलाको स्वतन्त्रता सहज नमानिने समयमा एकल आमाको रूपमा उनले पेशागत जिम्मेवारी र निजी जीवनलाई सन्तुलनमा राखिन्। तर पछि कलकत्तामा त्यो बच्ची गम्भीर रोगका कारण बितिन्—यो उनको लागि अत्यन्त पीडादायी व्यक्तिगत क्षति थियो।

आज उनका जीवनसँग सम्बन्धित केही वस्तुहरू मात्र बाँकी छन्, जसलाई उनकी जीवनीकारले सुरक्षित राखेकी छन्  । तीमध्ये नेपालका राजाले दिएको घडी—जसलाई उनले साडीमा टाँसेर लगाउँथिन्—एक तिब्बती चम्चा  र लन्डनमा किनेको नीलो पखेटा भएको ब्रुच समावेश छन्। उनका केवल दुईवटा धुम्म कालो–सेतो फोटो मात्र उपलब्ध छन्, जुन अहिले ग्लासगो कलेजको अभिलेखमा राखिएका छन्।

जीवनीकार दीप्ता रोय चक्रवर्तीले उनलाई महत्वाकांक्षा र पीडाबाट बनेकी महिलाको रूपमा चित्रण गरेकी छन् । एक यस्तो डाक्टर जसले स्वतन्त्रतापूर्व भारतमा जातीय भेदभाव र बेलायतमा लैङ्गिक विभेदको सामना गरिन् तर आफ्नो पेशाप्रति अडिग रहिन्।

“आज डा जमिनी सेनलाई सम्मान गर्नु भनेको केवल एक डाक्टरलाई होइन, तर यस्तो अग्रदूतलाई सम्मान गर्नु हो जसको साहसले भारत, बेलायत र अन्य ठाउँहरूमा भावी महिला चिकित्सकहरूको लागि बाटो खोलेको छ,” चक्रवर्तीले लेखेकी छन्।

सेनको निधन सन् १९३२ मा भयो। दशकौँसम्म उनको नाम ओझेलमा पर्‍यो। तर सन् २०२४ मा उनको ऐतिहासिक फेलोशिपपछि एक शताब्दीभन्दा बढी समयपछि ग्लासगोमा उनको तस्वीर अनावरण गरियो, जसले इतिहासमा उनको योगदानलाई पुनःस्थापित गर्‍यो।

उनको कथाले हामीलाई सम्झाउँछ कि आधुनिक चिकित्सा केवल युरोपेली वा पुरुषहरूको मात्र कथा होइन।

यो कथा त्यस्ता महिलाहरूले पनि लेखेका हुन्—पिनले मिलाइएका साडीहरू, दरबारका अस्पतालहरू, महामारीग्रस्त क्षेत्रहरू र परीक्षा हलहरूमा—जहाँ एक दृढ संकल्पित बंगाली महिलाले कहिल्यै पछाडि हट्न स्वीकार गरिनन्।