काठमाडौं, चैत २६ :

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि आफू रिहा भएको प्रतिक्रिया जनाएका छन् । प्रतिकूल स्वास्थ्य अवस्थाका कारण केही दिन अस्पतालमै रहेर उपचार गराउने पनि ओलीले जानकारी गराएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, 'सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु।'

उनका स्वकीय सचिव राजेश बज्राचार्यले पनि ओली केही दिन चिकित्सककै निगरानीमा रहने र सोमबार पत्थरीको अपरेसन हुने जानकारी दिएका थिए ।

भदौ २३ र २४ को घटनाबारे जाँचबुझ गर्न गठित आयोगको सिफारिसका आधारमा पक्राउ परेका ओलीलाई प्रहरीले बिहीबार बिहान हाजिर जमानीमा पत्नी राधिका शाक्यको जिम्मा लगाएर छाडिएको हो ।