काठमाडौं, चैत २७ :

कागेश्वरी मनोहरा नगरपालिकामा आयोजित ‘अन्तर्राष्ट्रिय लोक सांस्कृतिक कार्यक्रम, २०८२’ बिहीबार  सम्पन्न भएको छ। नगरपालिका र मिनिल्याण्ड स्कुलको आयोजनामा भएको उक्त कार्यक्रम मंगलबारदेखि सुरु भएको थियो।

नगरपालिकाको सभाहल, थलीमा सम्पन्न कार्यक्रममा नेपालसहित भारत, बंगलादेश, दक्षिण कोरिया, इजिप्ट र थाइल्यान्डका सांस्कृतिक टोलीहरूले आ–आफ्ना देशका मौलिक नृत्य तथा प्रस्तुति प्रस्तुत गरेका थिए।

विभिन्न देशका झल्को दिने प्रस्तुतिहरूले कार्यक्रममा अन्तर्राष्ट्रिय रंग थपेको थियो। यद्यपि, मध्यपूर्वमा जारी द्वन्द्वका कारण टर्कीको टोली भने कार्यक्रममा सहभागी हुन सकेन।

कार्यक्रमका प्रमुख अतिथि कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले यस्ता कार्यक्रमले सांस्कृतिक आदानप्रदानसँगै पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनले आगामी दिनमा पनि यस प्रकारका अन्तर्राष्ट्रिय कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

मिनिल्याण्ड स्कुलका अध्यक्ष डा. जयराम वाग्लेले कार्यक्रममा सहभागी सम्पूर्ण देशका प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ ठूलो स्तरमा कार्यक्रम आयोजना गर्ने योजना रहेको जानकारी दिए। उनले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको समेत सहभागिता रहने गरी थलीको खुला चौरमा कार्यक्रम गर्ने लक्ष्य राखिएको बताए।

कार्यक्रममा मिनिल्याण्ड स्कुलका प्रिन्सिपल मनिराम वाग्ले तथा वडा नं. ५ का वडाध्यक्षले पनि मन्तव्य व्यक्त गरेका थिए। अन्तर्राष्ट्रिय सहभागिता र सांस्कृतिक विविधताले भरिएको उक्त कार्यक्रमले स्थानीयस्तरमै विश्व संस्कृतिको अनुभव गराउने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकहरूले बताएका छन्।