
गत साताको अविरल वर्षामा बाढीपहिरोले काभ्रेपलाञ्चोकमा जनधनको ठूलो क्षति भएपछि राहत रकम उपलब्ध गराउन टोली परिचालन गरिएको छ ।
हाल जिल्लाका पाँच स्थानीय तहमा पहिरोमा परी ज्यान गुमाएका परिवारलाई सङ्घीय सरकारद्वारा घोषित राहत रकम उपलब्ध गराउन टोली परिचालन गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयबाट सबैभन्दा बढी मृतक सङ्ख्या रहेको पनौती नगरपालिका, बेथानचोक गाउँपालिका, रोशी गाउँपालिका, नमोबुद्ध नगरपालिका र मण्डनदेउपुर नगरपालिका गरी पाँच स्थानीय तहमा टोली खटिएको हो ।
प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक उमेशकुमार ढकाल सहितको टोलीले सुरुमा बनेपा र पनौतीका एक/ एक परिवारलाई राहत रकम उपलब्ध गराएको थियो ।
काभ्रेपलाञ्चोकमा पीडित परिवारलाई स्थानीयस्तरमै राहत दिन टोली खटाइएको ढकालले बताउनुभयो । उहाँका अनुसार पीडित परिवारलाई दुःख नदिने उद्देश्यका साथ सकेसम्म मृतकका घरमै पुग्ने र कठिन अवस्थामा वडा कार्यालयसम्म पुगेर भए पनि राहत रकम प्रदान गर्ने गरी टोली परिचालित गरिएको छ।
सडक अवरुद्ध भएका कारण तेमाल गाउँपालिकामा खटाइएको टोली वैकल्पिक बाटोको खोजीमा रहेको जनाइएको छ । स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर छिट्टै टोली सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले बताउनुभयो ।
मृतक प्रति व्यक्तिले सङ्घीय सरकारबाट दुई लाख नगद राहत पाउनेछन् । परिवारमा एकभन्दा बढी मृतकको हकमा दुई लाखमा एक लाख थपिने जनाइएको छ ।
गत साताको बाढीपहिरो र डुबानबाट अति प्रभावित तीन दर्जनभन्दा बढी स्थानीय तहलाई राहत तथा पुनःनिर्माणलाई प्राथमिकता दिन सरकारले शुक्रबार ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरेको छ ।
सरकारले तीन महिनाको सङ्कटग्रस्त क्षेत्र घोषणा गरेमध्ये जिल्लाका रोशी, तेमाल, बेथानचोक, चौंरी देउराली र महाभारत गाउँपालिका तथा पनौती, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिका छन् ।
जिल्लाका १३ स्थानीय तहमध्ये पाँचखाल नगर, महाभारत र खानीखोला गाउँपालिका बाहेक १० तहमा पछिल्लो विवरणअनुसार बाढीपहिरोमा परी ७२ जनाले ज्यान गुमाएका छन् ।
पाँच जना अझै बेपत्ता रहेको तथा ७५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
फोटोः काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका ४ स्थित पाटीखर्कमा यही असोज ११ गते अविरल वर्षाको कारण गएको बाढीले बगाएको घरको बाँकी संरचना