अविरल वर्षासँगै विभिन्न ठाउँमा गएको पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुलाइएको छ ।
हलेसी तुवाचुङ नगरपालिकाको विभिन्न ठाउँमा बिहीबार राति गएको पहिरोले अवरुद्ध भएको सडक नगरपालिका र मध्यपहाडी लोकमार्गको स्काभेटर प्रयोग गरेर तथा स्थानीय बासिन्दा र सुरक्षाकर्मीले पहिरो पन्छाएपछि आजबाट खुलाइएको हो ।
हलेसी- जयराघाट सडकखण्डको बाहुनीडाँडास्थित कदुवा क्षेत्रमा पर्ने गोरुमारेमुनि, त्यसभन्दा मुनि डौँठेखोलामाथिको पहिरो हटाइएपछि अवरुद्ध यातायात खुलेको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिनुभयो ।
तीन दिन लगाएर पहिरो पन्छाइएपछि रोकिएका सबै गाडी पार गराइएको उहाँले बताउनुभयो । पहिरोले विभिन्न ठाउँमा सडक अवरुद्ध भएपछि गाडीमा सवार एक हजारभन्दा बढी यात्रु अलपत्र परेका थिए। पहिरो पन्छाएर सडक खुलेसँगै अलपत्र परेका यात्रु गन्तव्यतर्फ लागेका छन् ।
दिक्तेल- हलेसी- जयरामघाट हुँदै राजधानी काठमाडौँ तथा तराईका जिल्ला जोड्ने सडक पटकपटक अवरुद्ध हुँदै आएपछि विकल्पको रुपमा दिक्तेल- चखेवाभञ्ज्याङ सडकलाई निर्वाध रुपमा सञ्चालन गर्ने प्रयास गरिएको छ ।
त्यसका लागि प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ नेतृत्वको टोलीले स्थलगत अध्ययन गरेर मर्मत कार्य शुरु गरिएको छ ।