काठमाण्डौं,साउन १८: नवनियुक्त प्रदेश प्रमुखहरुले आज पदबहाली गर्दैहुनुहुन्छ ।
बागमती प्रदेशका नवनियुक्त प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज बिहान ११ बजे पदभार ग्रहण गर्ने तयारी गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । देवकोटा वाग्मतीका चौंथो प्रदेश प्रमुख बन्नुभएको छ ।
यसैगरी लुम्विनी र कर्णालीका मुख्यमन्त्रीले पनि आजै पदवहालीको तयारी गर्नुभएको छ । दुवैजना काठमाण्डौबाट पदवहालीका लागि आजै आआफ्नो प्रदेश पुग्दै हुनुहन्छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष हिजो बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले शपथ लिनुभएको हो ।
राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को यही साउन १४ गतेको बैठकको निर्णय एवं सिफारिसमा बुधबार विभिन्न तीन प्रदेशका प्रदेश प्रमुख नियुक्त गर्नुभएको थियो । राष्ट्रपति कार्यालय शीतल निवासमा हिजो आयोजित विशेष समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्रीगण र विशिष्ट व्यक्तित्वको उपस्थिति थियो ।