गोरखा, असोज २२ :

प्राकृतिक सौन्दर्यता र वीरताको गाथाले मात्र होइन बारपाकको पहिचान गोरखाको परम्परा र मौलिकतासँग पनि गाँसिएको थियो ।

जगदेखि छानोसम्म ढुङ्गा र काठले बनेका एकहजार तीन सय बढी एकै स्वरूपका घरहरू जोडिएर बनेकाले बारपाकको मौलिकता र छुट्टै चिनारी थियो । 

पूरै गाउँलाई एकै ठाउँबाट सजिलै दृश्यावलोकन गर्न सकिने बारपाकका प्रत्येक घरको आँगनमा एकै प्रकृतिका ढुङ्गा छापिएका हुन्थे । सबैका आँगनको पर्खाल एउटै स्वरूपका ढुङ्गाले उठाइएका हुन्थे । बारपाकमा घरको गारो उस्तै, घरको छाना कालो ढुङ्गाले छाएका थिए । तस्बिरमा हेर्दा कुनै कलाकारले कोरेको चित्र जस्तै देखिने बारपाक गाउँमा अहिले ढुङ्गाका घर देख्न मुस्किल पर्छ ।

वि.सं २०७२ वैशाख १२ गते बारपाक केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पले ढुङ्गाका अधिकांश घर एकै झट्कामा भत्काइदियो । घर भूकम्पले भत्काएपछि अधिकांशले परम्परागत शैलीको घर बनाउने कल्पनासम्म गरेनन् । ढुङ्गाले बनेका घर भुकम्प प्रतिरोधी हुँदैन भन्ने धेरैको मनमा पर्यो ।

उनीहरुले कङ्क्रिटको प्रयोग गरेर आधुनिक घर बनाए । परम्परागत घर बलियो नहुने लागेकैले कङ्क्रिटको प्रयोग गरी घर बनाएको स्थानीय सुशीला घले बताउनुहुन्छ ।

‘‘बारपाकको चिनारी दिने पुरानो शैलीका घर बनाएर बस्न मन नभएको होइन तर फेरि ठूलो भूकम्प आयो भने सुरक्षित नहुने रहेछ जस्तो लागेर कङ्क्रिटको मिसिएको घर बनाएको उहाँको भनाइ छ ।

अहिले बनेका घर सुरक्षित भएपनि आधुनिक घरसँगै स्थानीय मौलिकता, सामाजिक, पारिवारिक सम्बन्ध कमजोर बनेको महसुस स्थानीयलाई छ ।

भौगोलिक बनावट अनुसार स्थानीयस्तरमा पाइने सामग्रीबाट बनेको घर नै उपयुक्त हुने र आधुनिक घर चिसो हुँदा स्वास्थ्यमा असर परेको स्थानीयले अनुभूति गरेको घलेले बताउनुभयो ।