
नवरात्र सुरु भएसँगै वीरगञ्जको सीमावर्ती बजार रक्सौलमा चहलपहल बढेको छ । वीरगञ्ज आसपासका सर्वसाधारण दसैँको किनमेल गर्न गएसँगै त्यहाँको बजार चहलपहल बढेको हो । तर स्वदेशी बजार वीरगञ्ज भने किनमेलमा सुनसान जस्तै देखिन्छ ।
सडक र फुटपाथमा फलफूल, जेरी र बच्चाका खेलौना बेच्ने मौसमी व्यापारीको भीडभाड देखिए पनि अन्य ‘सपिङ सेन्टर’ हरू सुनसान जस्तै देखिन्छन् ।
वीरगञ्ज महानगरपालिका- ९ घण्टाघरका मुन्ना ठाकुर वीरगञ्जमा भन्दा रक्सौल बजारमा २० देखि ३० प्रतिशत खाद्यान्न र लत्ताकपडा सस्तो हुने भएकाले प्रायः जसो सबै उतै खरिद गर्न जाने गरेको बताउनुहुन्छ ।
नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य सुबोधकुमार गुप्ता चाडपर्वका बेलामा पनि वीरगञ्जको भन्दा रक्सौलको सीमावर्ती बजारमा नै भीडभाड हुने बताउनुहुन्छ ।
वीरगञ्जमा भन्दा सस्तो मूल्यमा पाइने भएकाले पनि अधिकांश सर्वसाधारण खाद्यान्न र लत्ताकपडा लगायत सामान खरिद गर्न रक्सौल जाने गरेका उहाँ बताउनुहुन्छ । रक्सौल सधैँ गुल्जार भइरहने, वीरगञ्ज भने सुनसान जस्तै हुने परिपाटीको विकास हुँदै आइरहेको उहाँको भनाई छ ।
केन्द्रीय सदस्य गुप्ताले सरकारले भारतबाट आयातित वस्तुमा अत्यधिक मात्रामा कर लगाउँदा पनि अवैध ढङ्गले चोरी, तस्करी गरेर सामान भित्रिने प्रवृत्ति बढेको बताउनुभयो ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछाने सीमावर्ती क्षेत्रका सर्वसाधारणलाई दैनिक उपभोग्य वस्तु तथा सामान बाहेक अन्य वस्तु तथा सामान ल्याउन कडाइ गर्दै आइरहेको दाबी गर्नुभयो ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको असोज १५ गतेसम्मको अवधिमा ४३ अर्ब ७० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकामा सो अवधिसम्म कुल लक्ष्यको ७४ दशमलव ४७ प्रतिशत अर्थात् ३२ अर्ब ५४ करोड ५५ लाख राजस्व सङ्कलन भइसकेको छ ।
असोज भरिमा १७ अर्ब ४२ करोड लक्ष्य राखिएकामा असोज १५ गतेसम्मको अवधिमा भने छ अर्ब ९५ करोड राजस्व सङ्कलन भइसकेको छ ।
सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले दसैँमा विदेशी मदिराजन्य पदार्थको आयात भएसँगै राजस्व सङ्कलन उत्साहजनक रहेको बताउनुभयो ।