
दक्षिण एसिया र चीनका गरी ४५० तीर्थस्थल एक वर्षभित्र भ्रमण- दर्शन गर्नुभएका नेपालका शान्तिमैत्री अभियानकर्मी प्रदीप खनाललाई ‘एसिया बुक अफ रेकर्डस’ ले सम्मान गरेको छ ।
संस्थाले ‘तीर्थाटन पर्यटन’ मा कीर्तिमान राखेबापत अन्तराष्ट्रिय मैत्री समाज नेपालका अध्यक्ष खनाललाई यही असोज १६- १७ गते आयोजित ‘इन्टरनेसनल कन्भोकेसन- २०२४’ मा ट्रफी र सम्मानपत्र प्रदान गरेको छ।
भारतका पूर्वसङ्घीयमन्त्री अश्विनी चौबेले नेपाल, भारत, भियतनामलगायत एसियाका विभिन्न विधाका १५ कीर्तिमानीका साथ खनाललाई सम्मान गर्नुभएको थियो ।
सोही अवसरमा ‘इन्डिया बुक अफ रिकर्डस’ ले पनि ‘बुद्ध इन्टरनेसनल ट्रस्ट’ बेलायतका दुई संस्थापक मध्येका एक खनाललाई भारत लगायत एसिया आदिका सय कीर्तिमानीसँगै ‘हन्ड्रेड टप रिकर्डस अफ द एयर’ सम्मान दिएको छ।
डा एपिजे अब्दुल कलाम फाउन्डेसनका कोलकाताका अन्तर्राष्ट्रिय सल्लाहकार खनालले वि.सं २०८० असारदेखि २०८१ असारसम्म गरी भारत, महाराष्ट्र, सिरडीकी विनिता लेप्चा र मध्यप्रदेश, इन्दौरका मङ्गेश भागवतका साथ नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का र तिब्बत, चीनका चार धाम, चार आदिशक्तिपीठ, १८ महाशक्तिपीठ, ५२ शक्तिपीठ १०८ सिद्धपीठ, सप्तपुरी, शिखधर्मका ११ गुरुद्वारा र बौद्धधर्मका १३ तीर्थस्थल भ्रमण, दर्शन, पूजापाठ गर्नुभएको थियो ।
उहाँले तिब्बतको कैलाश मानसरोवरदेखि भारतका तामिलनाडुका तीन सागरको सङ्गमस्थल कन्याकुमारी, अरुणाचलको परशुराम कुण्ड तथा पाकिस्तान, बलुचिस्तानस्थित हिङ्गलाज माता मन्दिरको अनिल कुण्डलगायत २३ कुण्ड, तलाउ, नदी र नदीका मुहानमा डुबुल्की पनि लगाउनुभएको थियो।
आफ्नो सफल तीर्थाटनपछि तीर्थयात्री खनालले नेपालका सभामुख, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पशुपतिनाथ मन्दिरका मूलभट्ट, विभिन्न दलका नेता, पूर्वमन्त्री, सञ्चारकर्मी तथा भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडा, गोवद्र्धन पीठका जगत्गुरु शङ्कराचार्य अध्योक्षानन्द लगायतलाई भेटी जलप्रसाद वितरण गरिसक्नुभएको छ ।