काठमाण्डौँ , असोज २२ :

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा भएको उक्त भेटमा राष्ट्रपति पौडेलले शासनसत्तामा बस्नेहरूका लागि अहिले देखिएको सुशासन, रोजगारीको चुनौतीको समाधान गरेर युवालाई देशमै बस्ने अवस्था सृजना गर्न सुझाव दिनुभएको छ । 

संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिएर स्वदेश फर्केपछि आज जानकारी दिन शीतल निवास पुग्नुभएका प्रधानमन्त्री ओलीलाई राष्ट्रपति पौडेलले राजनीतिक दलहरू मिलेर मुलुकमा देखिएका समस्याको समाधान खोज्न आग्रह गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। 

गाउँगाउँमा आधारभूत सुविधा पुगेर बस्ने अवस्था सृजना भए पनि रोजगारी र आम्दानी नभएकाले मानिसहरू गाउँ छोडिरहेको बताउँदै उहाँले  त्यसतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । 

राष्ट्रपति पौडेलले हालै गएको बाढीपहिरोबाट प्रभावितको राहत तथा पुनःनिर्माणका कामलाई तीव्रता दिन  सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो । 

भेटमा प्रधानमन्त्री ओलीले अहिले देखिएको जटिलतालाई मुक्त गर्दै सुशासन कायम गरेर लोकतन्त्रलाई अझै सुदृढ बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । उहाँले दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारले सुशासन र विकासमा आफूलाई केन्द्रित गरेको पनि उल्लेख गर्नुभएको थियो । 

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घ महासभाका सन्दर्भमा भएको भ्रमण अत्यन्त फलदायी र प्रभावकारी भएको राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको थियो । 

महासभामा नेपालले समुद्र सतह उठेकोदेखि हिमाल जोगाउने विषयलाई नयाँ तर्कका साथ उठाएर सबैको ध्यानाकर्षण गराउन सकिएको पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले भ्रमणका सन्दर्भमा विभिन्न महत्त्वपूर्ण ‘साइडलाइन’ वार्ता गरेको पनि जानकारी गराउनुभएको थियो ।  

भेटमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवालगायतको पनि सहभागिता थियो ।