
गत साताको बाढीपहिरोपछि दोलखा हुँदै रामेछाप, ओखलढुङ्गा, सोलुखुम्बू लगायतका जिल्ला जाने सवारीसाधनको चापलाई ध्यानमा राखी जिल्ला प्रहरी कार्यालयले यात्रु सहायता कक्ष स्थापना सहित टाइम कार्ड लागू गरेको छ।
चाडपर्वमा हुने भीडभाडमा यात्रुको सहजताका लागि खरिढुङ्गा, सातदोबाटो चरिकोट, सिङ्गटी, जिरीमा यात्रु सहायता कक्ष स्थापना गरी टाइम कार्ड लागू गरेको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका अनुसार खरिढुङ्गा- चरिकोट (२२ किमी) कम्तीमा एक घण्टा, चरिकोट- किर्नेटार (३९ किमी) कम्तीमा एक घण्टा ३५ मिनेट, चरिकोट- जिरी (५६ किमी) कम्तीमा दुई घण्टा १५ मिनेट र चरिकोट- सिँगटी (३९ किमी) का लागि कम्तीमा एक घण्टा ३५ मिनेट समय तोकिएको छ।
यात्राका क्रममा असहजता महसुस भए सहायता कक्षामा उजुरी वा गुनासो गर्न ट्राफिक सहायता कक्ष स्थापना गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख ठाकुर भट्टराईले बताउनुभयो । खरिढुङ्गा सहायता कक्ष आज जिल्ला प्रमुख अधिकारी टुवाराज पोखरेलले उद्घाटन गर्नुभयो ।
यात्रु सहायता कक्ष मार्फत ट्राफिक नियमबारे सचेत गराउने, क्षमता भन्दा बढी यात्रु बोकेमा, तोकिएभन्दा बढी भाडा लिएमा जाँच गर्ने प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताउनुभयो।
गत असोज ११ र १२ गतेको बाढीपहिरोले अन्य जिल्लाका विभिन्न पुल र सडक बगाउँदा दोलखा हुँदै काठमाडौँ आवतजावत गर्ने रामेछाप, ओखलढुङ्गा मन्थली, सोलुखुम्बू लगायत सवारी साधन दोलखा हुँदै गुड्न थालेका छन्।