काठमाण्डौँ , असोज २३ :

खानेपानीमन्त्री प्रदीप यादव सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची मुहानमा गएर स्थानीयको माग पूरा गराउने सहमति गरेपछि आज पानी सुरुङमा पठाइने भएको छ। 

मन्त्री यादवको नेतृत्वमा मेलम्ची विकास समितिका अधिकारीहरू तथा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको नेतृत्वमा स्थानीय सङ्घर्ष समितिबीच गएराति सहमति भएपछि सुरुङमा पानी पठाउने तयारी गरेको हो। 

सुरुङमा अहिले पानी भरिएकै अवस्था रहेकाले पानी प्रवेश गराएको एक- दुई दिनमा वितरण गर्न सकिने मेलम्ची विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिनुभयो।

मुहानमा आज बिहान सरसफाइ गरेपपछि पानी सुरुङमा प्रवेश गराउने योजना रहेको कार्यकारी निर्देशक लामिछानेले बताउनुभयो।

मेलम्चीको पानी आज सुरुङमा पठाएसँगै तीन दिनभित्रमा काठमाडौँ उपत्यकामा वितरण गरिने तयारी छ। 

हेलम्बुमा २०७८ सालमा आएको बाढीबाट प्रभावितहरूको पुनर्स्थापना, सडक, पुल तथा भौतिक संरचना निर्माण तथा पानीको महसुलको निश्चित प्रतिशत रकम हेलम्बुको विकासमा लगाउने सम्बन्धी सहमति भएपछि स्थानीयले पानी सुरुङमा प्रवेश गराउन दिने भएका हुन्।