सरकारका मन्त्रीहरूले काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर र सिन्धुपाल्चोक जिल्लाका बाढी प्रभावित क्षेत्रको आज अवलोकन गरी त्यहाँ भइरहेको सहयोग र पुनःनिर्माणबारे जानकारी लिनुहुने भएको छ ।
गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईसहितको टोलीले काभ्रेको मङ्गलटार, सिन्धुलीको खुर्कोट, सिन्धुपाल्चोकको चौतारा, ललितपुरको गोटीखेलका लागि प्रस्थान गर्नुभएको छ ।
उहाँहरूले बाढीपहिरोबाट भएको क्षति तथा त्यहाँ तत्काल भइरहेका सडक पूर्वाधार पुनः निर्माण र राहतका कार्यक्रम सञ्चालन लगायत विषयमा छलफल गर्नुहुने छ ।
यसैबीच, बागमती प्रदेश बढी प्रभावित भई यही असोज १० देखि १२ गतेसम्म भएको बाढीपहिरोमा परी दुई सय ४६ जनाको मृत्यु भयो भने १८ जना बेपत्ता छन् ।
अन्य एक सय ७८ जना घाइते भएकामा ३० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिनुभयो ।
हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न तीव्र रूपमा प्रयास भइरहेको प्रवक्ता तिवारीले बताउनुभयो ।