काठमाण्डौँ , असोज २३ :

दिगो विकास लक्ष्यका केही विषयगत क्षेत्रलाई स्थानीयकरण गर्न चन्द्रागिरि नगरपालिकाले ‘स्थानीय स्वेच्छिक मूल्याङ्कन’ (भिएलआर) प्रतिवेदन तयार गरेको छ।

 दिगो विकास लक्ष्यका १९ विषयगत क्षेत्रमध्ये शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, खानेपानी तथा सरसफाइ, सुरक्षित, सुन्दर र सबैको पहुँचयोग्य सहर लगायत क्षेत्रलाई समावेश गर्दै नगरपालिकाले एक वर्षको अथक प्रयासबाट प्रतिवेदन बनाएको हो। 

ती क्षेत्रलाई  मुख्य आधार एवं स्थानीयकरण गर्दै नगरपालिकाले आफ्ना योजनामा समावेश एवं कार्यान्वयनमा ल्याएको विषयलाई प्रतिवेदनमा समावेश गरिएका छन्।

अब नगरपालिकाले प्रतिवेदनलाई संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत गर्ने तयारी समेत थालेको छ। चन्द्रागिरि यस्तो प्रतिवेदन प्रस्तुत गर्ने दोस्रो नगरपालिका हुनेछ । धुलिखेल नगरपालिकाले ‘भिएलआर’ प्रतिवेदन प्रस्तुत गरिसकेको छ। 

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरी, राष्ट्रिय योजना आयोगका सदस्य डा रमेशप्रसाद सिंह, संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हन्ना सिगर हाम्दी लगायतले संयुक्त रूपमा विश्व बसोबास दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा ‘भिएलआर’ प्रतिवेदन सार्वजनिक गर्नुभयो।

सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न र यसलाई स्थानीयकरण गर्न नगरपालिकाले ‘भिएलआर’ प्रतिवेदन तयार पारेको चन्द्रागिरि नगरप्रमुख गिरीले जानकारी दिनुभयो।

दिगो विकास लक्ष्यमध्ये शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, खानेपानी तथा सरसफाइ, सुरक्षित, सुन्दर र सबैको पहुँच योग्य सहर जस्ता लक्ष्यलाई स्थानीयकरण गर्न नगरपालिकाले अवलम्बन गरेका असल अभ्यासलाई प्रतिवेदनमा समावेश गरिएका छन्।

अब नगरपालिकाले प्रतिवेदनलाई संयुक्त राष्ट्रसङ्घमा शीघ्र प्रस्तुत गर्ने र सहरीकरणसँग सम्बन्धित तथ्याङ्क व्यवस्थापनलाई दिगो विकास लक्ष्यको मापनसँग जोड्न नगरपालिकाले उच्च प्राथमिकतामा राखेको नगरप्रमुख गिरीले बताउनुभयो।