
महोत्तरीको सोनामाई मन्दिरमा आजदेखि भूत मेला सुरु भएको छ । अनादिकालदेखि नै बडादसैँका बेला औरही नगरपालिका- ७ अवस्थित सोनामाई शक्तिपीठमा भूतमेला लाग्ने सोनामाईका पूजारी कामेश्वर झाले बताउनुभयो ।
परापूर्वकालदेखि नै भूत मेलाका लागि प्रख्यात सोनामाई मन्दिरमा हरेक वर्ष वडादसैँको सप्तमीदेखि लाग्ने मेला यस वर्ष आज बिहानैदेखि सुरु भएको अर्का पूजारी घनश्याम झाले बताउनुभयो ।
बडादसैँको सप्तमीदेखि विजयादशमीका दिनसम्म चल्ने मेलामा हजारौँ पीडित (कारनी) र दर्शनार्थीको भीड लाग्ने गर्दछ।
भूतप्रेतले सताइएका हजारौँ पीडितहरू प्रत्येक वर्ष यस मेलामा आउने गर्छन् भने सोनामाईको कृपाले स्वस्थ हुने जनविश्वास रहेको अर्का पुजारी झगरु झा बताउनुहुन्छ।
वर्षौँदेखि भूत, पिसाच, कालो जादुटुना र बोक्साबोक्सीको कुचक्रमा परेर जीवन मृत्युको दोसाधमा परेकाहरु सोनामाईको सीमा क्षेत्रमा आउने बित्तिकैको कसबाट सताइएको हो भन्नेबारे आफैँ भन्न थाल्छन् भने देवीको शक्तिले सीमा क्षेत्रमा खुट्टा टेक्ने बेलादेखि नै लड्दैपड्दै, रुँदै हाँस्दै र विभिन्न गतिविधिका साथ खेल्दै देवी दरबारसम्म पुग्ने गर्छन र दरबारमा पुगेका पीडितहरू माताको दृष्टि परेपछि निको भई आ- आफ्ना घर फर्कने गरेको माताका अर्का पुजारी रमेश झाले बताउनुभयो ।
विजयादशमीका दिनसम्म चल्ने मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहटलगायत मुलुकका हेटौँडा, धरान, विराटनगर र काठमाडौँदेखि भारतका सीतामढी, मधुवनी र पटनासम्मका हजारौँ पीडित महिला र पुरुष पुग्ने गरेको पुजारी घनश्यामले बताउनुभयो।