काभ्रे, असोज २४ :

नवरात्रका अवसरमा पाँचखालस्थित पलाञ्चोक भगवतीको मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । देवीलाई हाँस, बोका, राँगा अर्पण गर्नेहरू पनि लामबद्ध भएका छन् । 

वि. सं ४२५ मा राजा मानदेव प्रथमको शासनकालमा स्थापित भगवती मन्दिरमा पलाञ्चोक भगवतीको मन्दिर एक हजार छ सय ५६ वर्ष पहिले निर्माण भएको मानिन्छ । 

बुच्चाकोटमा रहेको पलाञ्चोक भगवतीले एक  स्थानीय एक वृद्धलाई सपनामा आफ्नो मूर्ति उक्त स्थानबाट उत्तरतर्फ सार्न आग्रह गरेको जनश्रुति छ ।

त्यसअनुसार भगवतीको मूर्तिलाई उत्तरतर्फ लैजाने क्रममा हाल मन्दिर रहेको स्थानमा पुग्दा रात परेपछि त्यहीँ बास बसेको र अर्को दिन बिहान उठाएर  लैजाने प्रयास गर्दा उठाउन नसकेपछि स्थानीय ६० घरका मानिसले पनि उठाउन नसकेपछि सोही स्थानमा देवीको उक्त मूर्ति राखेर पूजा हुन थालेको हो । 

पलाञ्चोक भगवतीथानमा १९९० सालको भूकम्पमा खासै क्षति नभएको स्थानीय ज्येष्ठ नागरिकहरू बताउनुहुन्छ । देवीको मूर्तिको शिर थोरै पश्चिमतिर ढल्किएको छ ।

विसं २०७२ को भूकम्पले पनि मन्दिरमा सामान्य क्षति भएको थियो । पलाञ्चोक भगवतीको दर्शन गर्नाले मनोकामना पूरा हुने विश्वासमा देशका विभिन्न स्थानका साथै भारतबाट पनि भक्तजन आउने गरेका छन् ।