काठमाडौै, जेठ २० :

कागेश्वरी मनोहरा नगर अस्पताललाई आधुनिक तथा सुविधासम्पन्न १०० शय्याको जनरल अस्पतालका रूपमा विकास गर्ने प्रक्रिया तीव्र रूपमा अघि बढेको छ। अस्पतालको स्तरोन्नति तथा आवश्यक पूर्वाधार विकासका लागि करिब १ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान गरिएको गुरुयोजना स्वीकृत भएसँगै स्रोत व्यवस्थापनका लागि नगरपालिकाले  पहल थालेको छ।

यसैक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीको नेतृत्वमा अस्पतालका कार्यकारी निर्देशक तथा प्राविधिकहरूको विशेष टोलीले मंगलबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग भेट गरी परियोजना समेत पेस गर्दै कार्यान्वयनका लागि आवश्यक आर्थिक स्रोत जुटाइदिन आग्रह गरेको छ। त्यसअवसरमा टोलीले मुख्यमन्त्रीसमक्ष अस्पताल स्तरोन्नतिसम्बन्धी विस्तृत लागत अनुमान, ड्रइङ तथा डिजाइनसमेत प्रस्तुत गरेको थियो।