पर्वत, असोज २५ :

उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्ग अन्तर्गत पर्वतको मोदीवेणीदेखि मुडिकुवा सडक खुलेको  छ।  

वर्षायामको बेला ठाउँठाउँमा पहिरो जाँदा गत असारदेखि अवरुद्ध बनेको सडक बुधबार बिहानदेखि सञ्चालन भएको हो ।

नेपालीको महान् चाड दसैँलाई लक्षित गर्दै फलेबास नगरपालिकाको पटक पटकको आग्रहपछि आयोजना कार्यालयले सडक मर्मत गरेर सञ्चालनमा ल्याएको फलेबास नगरपालिकाका नगरप्रमुख गङ्गाधर तिवारीले जानकारी दिनुभयो ।

सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले सडक खुलाउन आनाकानी गरेपछि नगरपालिकाले आयोजनालाई आग्रह दिएको थियो । 

सडक सञ्चालन भएसँगै कुश्मादेखि दक्षिण पर्वतका फलेबास, महाशिला, विहादी, पैँयु गाउँपालिकामा जाने सवारी साधन सो मार्ग हुँदै चल्न थालेका छन् ।

त्यस क्षेत्रमा बासिन्दालाई झण्डै एक घण्टाको सवारी यात्रा छोटिएको नगरप्रमुख तिवारीले बताउनुभयो । यसअघि जिल्लाका चार पालिकामा जाने सवारी साधन दोबिल्ला- साइकलचोक- मुडिकुवा हुँदै जाने गरेका थिए । 

निर्माणाधीन अवस्थामा रहेको कालीगण्डकी लोकमार्गको फलेबास- अर्मादी खण्ड ठेकेदारको लापरबाहीका कारण सात वर्षदेखि पूरा हुन सकेको छैन । मोदीवेणीदेखि मुडिकुवासम्मको खण्ड सञ्चालनमा आए पनि अर्मादीदेखि- मोदीबेनीसम्म भने अवरुद्ध नै रहेको छ ।