
सल्यानको कुमाख गाउँपालिका ३ गुरेलीखोलामा फोर्स गाडी दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।
नेपालगन्जबाट रुकुम पश्चिमको चौरजहारी आउँदै गरेको लु २ ख ५००२ नम्बरको फोर्स गाडी आज बिहान देवस्थल चौरजहारी भित्री सडक खण्डको गुरेलीखोलामा दुर्घटना परेको हो ।
घाइते मध्य तीन जनालाई थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको छ ।
उपचारका लागि चौरजहारी अस्पताल ल्याइएका मध्य तीन जनाको अवस्था गम्भीर भएपछि थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा रिफर गरिएको हो ।
गाडीमा सवार २० जना यात्रु मध्य १७ जना घाइते भएको थिए । घाइते मध्य १६ जनालाई उद्धार गरेर उपचारको लागि चौरजहारी अस्पताल पठाइएको थियो भने एक जना प्राथमिक उपचार पश्चात् घर फर्केको इलाका प्रहरी कार्यालय रागेचौरले जनाएको छ ।
अस्पतालमा पठाइएका मध्य चौरजहारी नगरपालिका १ निवासी ३३ वर्षीय त्रिलोचन गिरी, सल्यानको कुमाख गाउँपालिका ३ निवासी २२ वर्षीय सन्तोष राना र सोही स्थानकी ३२ वर्षीया गीता बुढा लाई रिफर गरिएको हो । उहाँहरूको खुट्टा र निधारमा गम्भीर चोट रहेको बताइएको छ ।
गाडी चालक सल्यानको कुमाख गाउँपालिका ३ बस्ने २२ वर्षीय वसन्त बुढाथोकी फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
गाडीको ब्रेक फेल भएका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।