कास्की, असोज २५ :

पोखरामा यस वर्ष दसैँमा १९ हजार हाराहारीमा भेडा, च्याङ्ग्रा र खसीबोका बिक्रीका लागि ल्याइएको छ।

पोखरामा वर्षौंदेखि नेपालकै हिमाली क्षेत्र र चीनको तिब्बतबाट समेत च्याङ्ग्रा तथा भेडा ल्याउने गरिएको छ । यसबाहेक दसैँमा खसीबोकाको समेत राम्रो बिक्रीवितरण हुने गर्दछ। 

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कास्कीका अनुसार दसैँमा १५ हजारको सङ्ख्यामा भेडा, च्याङ्ग्रा र खसीबोका चार हजार हाराहारीमा बिक्री गर्न ल्याइएको हो । 

यस वर्ष गत वर्षभन्दा तीन हजार बढी भेडा, च्याङ्ग्रा ल्याइँदैछ । गत वर्ष आठ हजार पाँच सय खसीबोका ल्याइएकोमा यस वर्ष घटेको छ।

पोखरामा मुख्यगरी मुस्ताङ, डोल्पा, रोल्पाबाट भेडा, च्याङ्ग्राको आयात हुने गर्दछ । त्यसबाहेक सुदूरपश्चिमका बझाङ, मुगु, बाजुरालगायत क्षेत्रबाट बिक्रीका लागि ल्याउने गरिएको छ ।

पोखरा खसीबोका व्यवसायी समितिका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले यस वर्ष खसी/ बोकाको बिक्री घटेको बताउनुभयो। माग कम भएपछि आफूहरूले आयात समेत घटाएको उहाँले बताउनुभयो । 

पोखरामा तनहुँ, गोरखा, पाल्पा, अर्घाखाँची र नवलपरासीबाट मुख्यगरी खसीबोका आयात हुने गर्दछ । केही व्यापारीले दाङ र सुर्खेतबाट ल्याउने गरेका छन्।

दसैँतिहारका लागि भनेर पोखरामा बिक्रीका लागि ल्याइएका भेडाच्याङ्ग्राको अनुगमन तथा स्वास्थ्य परीक्षणसमेत गरिएको छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र पोखरा महानगर पशुसेवा शाखाले संयुक्त रुपमा अनुगमन तथा भेडा, च्याङ्ग्राको स्वास्थ्य जाँच गरेका हुन्।

परीक्षण गरिएको भेडा र च्याङ्ग्रा खानका लागि स्वस्थ र योग्य पाइएको भेटेरिनरी अस्पताल तथा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेले बताउनुभयो।

पोखरा महानगर पशु शाखाका प्रमुख डा अषेशराज विकले पोखरामा ल्याइने गरेका भेडा, च्याङ्ग्रा स्वस्थ रहेकाले निर्धक्क भएर उपयोग गर्न सकिने बताउनुभयो।

अनुगमनका क्रममा स्वास्थ्य परीक्षण गर्दा एकाधमा चोटपटक लागेको देखिएपनि अन्य सङ्क्रामक रोग देखिएको छैन। “पोखरामा ल्याइएका भेडा, च्याङ्ग्रा स्वस्थ रहेका छन्। खर्कमा हुर्किएकाले समस्या देखिएको छैन”, पशुचिकित्सक विकले भन्नुभयो।