
यही असोज १२ गते आएको बाढीले क्षतिग्रस्त बनाएको झोलुङ्गे पुलको मर्मतलाई तीव्रता दिइएको छ ।
पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने दिक्तेल- गाईघाट सडकखण्डको सुनकोसीस्थित फोक्सिङ्टारको मोटरेबल पक्की पुल बाढीले बगाएपछि विकल्पका रुपमा आवतजावत गर्ने वातावरण मिलाउन जिल्लाका क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत थालिएको हो ।
खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित बङ्शिलाघाट, धाप्लाङघाट र भण्डारे घाटमा जडान गरेर सञ्चालन गरिएको झोलुङ्गे पुलमा बाढीले क्षति गरेको थियो ।
दसैँको टीका अघि सुनकोसीस्थित तीनवटै घाटको झोलुङ्गे पुल पुनःसञ्चालनमा ल्याउने गरी मर्मत कार्यलाई तीव्रता दिइएको सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिहरुले बताएका छन् ।
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे र उदयपुरको रौतामाई गाउँपालिका- ३ चनौटेस्थित सुनकोसी नदीको भण्डारेघाटको झोलुङ्गे पुल पनि मर्मत गरेर पुनःसञ्चालनमा ल्याइसकिएको जनाइएको छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले एक लाख ४५ हजार रकम उपलब्ध गराएपछि तारजाली तथा आवश्यक पर्ने सामग्री खरिद गरेर क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत गरिएको हो ।
तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीमा पर्ने दिक्तेल- गाईघाट सडकखण्डको फोक्सिङटारस्थित मोटरेबल पक्की पुलको विकल्पमा भण्डारेघाटको झोलुङ्गे पुल मर्मत गरेर सञ्चालनमा ल्याइएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिनुभयो ।
दैनिकीसँग जोडिएको फोक्सिङ्टार पुल बाढीले बगाएपछि तराईसँगको सिधा सम्पर्क विच्छेद भएको उहाँले बताउनुभयो।