
नेपालीहरुको महान् चाड बडादसैं मान्यजनहरुबाट टीका र आशिर्वाद ग्रहण गरी मनाइदैछ ।
बडादसैंमा आफ्ना मान्यजनहरूबाट नवदूर्गा भवानीको प्रसाद, टीका र जमरा लगाउने प्रचलन छ ।
दशैंको मुख्य दिन आज सबैभन्दा महत्वपूर्ण दिन हो ।
आजको दिन परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरुपुरोहित तथा मान्यजनको हातबाट नवदूर्गा भवानीको प्रसादको रुपमा रातो टीका, जमरा तथा प्रसाद थापी यस, ऐश्वर्य तथा दीर्घायु प्राप्त होस् भनी आशिर्वाद लिने गरिन्छ ।
समस्त नेपालीजनले विजयादशमीलाई एकता, भ्रातृत्व र प्रेमको रुपमा लिईन्छ ।
सबै आफन्तजन एकै स्थानमा भेला भएर टीका लगाउने चलन छ ।
मान्यजनको हातबाट दशैंको टीका थाप्न शहरबाट तथा देश विदेशबाट समेत मानिसहरु आफ्नो गाउँघरमा पुग्ने गर्दछन् ।
कतिपय स्थानमा एकदिन मात्रै टिका लगाउछन् भने कतै कोजाग्रत पूर्णिमासम्म पनि टीका लगाउने चलन छ ।
असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्ति विजय भएको खुसियालीमा दशैं मनाउने चलन चलेको पौराणिक मान्यता छ ।