
काठमाण्डौँ , असोज २९ :
दशैँका लागि गाउँघर पुगेकाहरू काठमाडौँ फर्किने क्रम शुरु भएको छ ।
आजदेखि दशैँको बिदा सकिने र भोलिदेखि सरकारी कार्यालय तथा अन्य निकाय खुल्ने भएकाले गाउँघर गएका धेरैजसो मानिसहरू फर्किन थालेका हुन् ।
काठमाण्डौसँग जोडिएका मुख्य नाकाहरूमा हिजोदेखि नै यात्रु र गाडीको चाप बढ्न थालेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कतिपय मानिसहरु काठमाडौँमा भएका आफन्तकहाँ आज पनि टीका लगाउन जानुपर्ने भएकोले फर्किएका हुन भने कामकाजी मानिसहरुको भोलिदेखि कार्यालय खुल्ने भएकाले आज फर्किएका हुन ।
आज पनि विजया दशमीको टीका र जमरा लगाउनेहरुको विहानैदेखि सडकमा चहलपहल देखिन्छ ।
बाढीपहिरोको कारण यस पटक सडकको अवस्था जोखिमपूर्ण रहेकाले यात्रामा सावधानी अपनाउन सम्बन्धित निकायले अनुरोध गर्दै आएका छन् ।