काठमाडौं, साउन १३ :

संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तका लागि सिफारिस भएकाहरूको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।

बुधबार बसेको समितिको बैठकले प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका मानबहादुर कार्की तथा निर्वाचन आयुक्तमा सिफारिस भएका गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।

दुई निर्वाचन आयुक्तका लागि सिफारिस भएका वाग्ले र सुब्बाको संसदीय सुनुवाइ मंगलबार सम्पन्न भएको थियो भने प्रमुख निर्वाचन आयुक्तका लागि सिफारिस भएका कार्कीको सुनुवाइ बुधबार गरिएको थियो।

संवैधानिक परिषद्को गत असार १९ गते बसेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्की तथा आयुक्तमा वाग्ले र डा. सुब्बाको नाम सिफारिस गरेको थियो।

संसदीय सुनुवाइ समितिबाट कार्कीसहित तीनै जनाको नाम अनुमोदन भएसँगै नियुक्ति प्रक्रिया अघि बढ्ने छ। संवैधानिक व्यवस्थाअनुसार संसदीय समितिले अनुमोदन गरेका प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुलाई राष्ट्रपतिले नियुक्त गर्नेछन्।