
बुद्ध एयरको पर्वतीय उडान (माउन्टेन फ्लाईट) मा गएको ‘नाईन एन एजेएस’ कलसाईन विमानमा प्राविधिक समस्या देखिएको छ ।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले विमानमा प्राविधिक समस्या देखिएपछि विमानलाई फर्काएर सुरक्षित अवतरण गरिएको जानकारी दिनुभयो ।
अहिले उक्त विमानको प्राविधिक टोलीले जाँच गरिरहेको छ । माउन्टेन फ्लाइटमा गएको विमानको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएपछि विमानलाई सुरक्षित अवतरण गरेर अहिले प्राविधिक मर्मत भइरहेको उहाँले बताउनुभयो । आज मौसम बिग्रिएर हिमाल नदेखिएकाले कुनै पनि माउन्टेन फ्लाइट भएनन् ।
आज बिहान माउन्टेन फ्लाईट, उडान नम्बर १०० विमानको ‘कल साईन नाइन एन एजेएस’ विमानको दायाँ इन्जिनमा इन्डिकेटर समस्या देखिएको हुँदा विमानलाई काठमाडौँ सुरक्षित अवतरण गराइएको र उक्त विमानलाई बुद्ध एयरका प्राविधिक टिमले चेकजाँच गरिरहेको बुद्ध एयरद्वारा जारी सूचनामा उल्लेख छ ।
बुद्ध एयरको आजको माउन्टेन फ्लाइटका लागि पाँच उडान निर्धारण गरिएकामा सबै उडान रद्द भएका छन् । टिकट लिएका यात्रुलाई अर्को उडानमा हिमालसम्म लगिने कम्पनीले जनाएको छ ।
काठमाडौँबाट माउन्टेन फ्लाईटमा गएका विमान हिमाल नदेखिएपछि फर्किएको सूचना अधिकारी कर्णले बताउनुभयो ।
हिमाली भेगमा लागेको बाक्लो तुवाँलोका कारण आज कुनैपनि माउन्टेन फ्लाइट नभएको कम्पनीले जनाएको छ ।