
जवाफदेहिता निरगानी समितिले सङ्क्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोटलाई विश्वसनीय बनाउन नयाँ छनोट समिति गठन गर्न माग गरेको छ ।
समितिका संयोजक राजुप्रसाद चापागाईले आज जारी गरेको प्रेस विज्ञप्तिमा पदाधिकारी छनोट प्रक्रिया विश्वसनीय बनाउनुपर्ने र छनोट प्रक्रियामा विगतमा गरिएको गम्भीर गल्ती नदोहोर्याउन माग गरिएको छ ।
सङ्क्रमणकालीन न्याय प्रक्रियाको गाम्भीर्य अनुरूप स्वतन्त्र व्यक्ति सम्मिलित नयाँ छनोट समिति गठन गरेर पदाधिकारी छनोट प्रक्रियालाई सबै पीडित लगायतका सबै सरोकारवालाले स्वामित्व लिने गरी अगाडि बढाउन नेपाल सरकारसमक्ष समिति जोडदार माग गर्दछ विज्ञप्तिमा भनिएको छ ।
अब गठन हुने छनोट समितिले खुला, पारदर्शी, परामर्शयुक्त, र सहभागितामूलक (सार्वजनिक सुनुवाइसहित) छनोट विधि तथा प्रक्रिया अपनाएर पदाधिकारी छनोट गरी सङ्क्रमणकालीन न्याय प्रक्रियाको बाँकी अभिभारा वैधरूपमा सम्पन्न गर्ने मार्ग प्रशस्त गर्नुपर्नेमा निगरानी समितिको जोड छ ।
समितिले सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोग यथाशक्य चाँडो गठन गर्नतर्फ तीन दलले देखाएको अग्रसरता सकारात्मक भएको समेत उल्लेख गरेको छ ।
पदाधिकारी छनोट प्रक्रियामा विगतका गम्भीर गल्ती दोहोरिन नदिई यसको विश्वसनीयता र वैधता सुनिश्चित गर्नुपर्ने आवश्यकता टड्कारो देखिएको जनाएको छ ।