
बारा जिल्ला अदालतले ३ वर्षीय बालिकाको बलात्कारपछि ह*त्या गरेको घटनामा मुख्य प्रतिवादी प्रोगेश चौधरीलाई २० हजार धरौटीमा छाड्न र अन्य ९ जना प्रतिवादीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।
बारा जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीको एकल इजलासले इन्द्रजीत चौधरी, बबिता चौधरी, ममता चौधरी, पुष्पा चौधरी, नबिन विक, टेक बहादुर थापा मगर, शेष हसमुदिन आलम, सविता चौधरी र बिन्दु देवी चौधरीलाई अदालतले साधारण तारेखमा छाड्ने आदेश दिएको छ ।
अदालतले प्रत्यक्ष प्रमाणको अभावको कारण देखाउँदै उनीहरुलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो । प्रतिवादीहरुमाथि अभियोगदाबी पुष्टि नभएको र नेपाल सरकारको तर्फबाट पेस गरिएको अभियोगदाबी पुष्टि गर्ने पर्याप्त प्रमाण मिसिलमा सामेल नभएकाले थुनामा वा धरौटीमा राख्न आवश्यक नदेखिएको ठहर अदालतले गरेको हो ।
गृहमन्त्री सुधन गुरुङले पीडितका बुवाआमालाई सिंहदरबारमा झिकाएर तीन बुँदे सम्झौतासमेत गरेका थिए । घरबाट निस्केकी बालिका जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१, भक्तिनगर टोलस्थित वीरबहादुर रोक्काको खाली घरभित्र मृत अवस्थामा फेला परेकी थिइन् ।