म्याग्दी, कात्तिक ८ :

बेनी नगरपालिका- ६को एक्लेपिपलबाट जम्रेनी क्षेत्रमा बाटो खुलेको २५ वर्षपछि सडक कालोपत्र भएको छ । 

बेनी नगरपालिकाले बेनी- पात्लेखेत सडक आयोजनामार्फत एक्लेपिपलबाट जम्रेनी क्षेत्रको सडक कालोपत्र र ढलान सहित स्तरोन्नति गरेको हो ।

बेनी- ६ का वडाध्यक्ष कृष्णसिंह बानियाँका अनुसार २०५६ सालमा सडकको सडक निर्माण गरिएको हो ।

सडक स्तरोन्नति भएपछि आवतजावत गर्न सहज भएको छ । यो सडक निर्माणका लागि गत आर्थिक वर्ष २०८०- ८१ मा रु एक करोड ३४ लाख ६६ हजार नौ सय २९ मा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । 

सात सय मिटर प्रिमिक्स प्रविधिको कालोपत्र, एक सय २५ मिटर ढलान, सात सय मिटर पानी निकासका लागि नाली र छ सय मिटर पर्खाल निर्माण भएको छ । 

यो सडकले बेनी नगरपालिका- ६, ९, १० हुँदै रघुगङ्गा गाउँपालिका- ५, ६ र ८ नम्बर वडालाई जिल्ला सदरमुकामसँग जोडेको छ । साथै, गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालयले रु १० करोड १६ लाख एक हजार तीन सय ६४ को लागतमा बेनी- पाखापानी सडकको भुतेदैला- नेप्टेचौर-तोरीपान खण्डमा चार किलोमिटर सडक स्तरोन्नति गर्ने आयोजना सञ्चालन गरेको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षमा रु तीन करोड बजेट विनियोजन गरेको बेनी- पात्लेखेत सडकको तोरीपानीबाट पात्लेखेत तर्फ स्तरोन्नतिको तयारी गरेको नगरप्रमुख सुरत केसीले बताउनुभयो ।