लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी निर्देशक (सीईओ) सुशील भट्टको म्याद थप प्रक्रिया आज हुने भएको छ ।
हिरासतमा रहेका इनम सापकोटासँग भट्टको सघन सम्बन्ध देखिएपछि अनुसन्धानका लागि शनिबार पक्राउ परेका हुन् ।
हिजो सार्वजनिक बिदा भएका कारण सकेसम्म आज म्याद थप गर्ने तयारी गरिएको छ ।
भट्ट शक्तिकेन्द्र सहजकर्ता (पावर ब्रोकर) का रूपमा सक्रिय रहेको बुझिएको छ । उनको निकट सम्बन्ध पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणासँग पनि देखिएको छ । ती सम्पर्क र सम्बन्धहरू सरकारलाई अप्ठ्यारो पार्ने किसिमको रहेको भन्दै प्रधानमन्त्रीको सचिवालयबाट प्राप्त सूचनाका आधारमा अनुसन्धान अगाडि बढाइएको हो ।
संदिग्ध कृयाकलापमा सक्रिय इनम सापकोटा अहिले प्रहरी हिरासतमा छन् । उनीमाथि अनुसन्धान गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालयले त्यहाँ कार्यरत एसपीको नेतृत्वमा अलग्गै टोली खटाएको छ । उनी २२ दिनअघि पक्राउ परेका थिए ।
हाल कारागारमा रहेका व्यवसायी दीपक भट्टलाई अदालत मिलाएर छुटाउने र अदालतमा विचाराधिन अन्य मुद्दामा गम्भीर चलखेलमा सापकोटा सक्रिय थिए । शनिबार पक्राउ परेका भट्ट व्यवसायी भट्टकै दाइ हुन् ।
चोलेन्द्र पक्राउ लगत्तै झापा,दमकका बासिन्दा सापकोटा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भारत जान लाग्दा विमानस्थलबाटै पक्राउ परेका थिए । प्रहरीले उनलाई पक्राउलगत्तै अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान गरेको थियो । पछि नेपाल राष्ट्र बैंक ऐनअन्तर्गतको कसुर र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।
प्रहरी स्रोतका अनुसार उनका संदिग्ध गतिविधिमा विभिन्न किसिमले संलग्न अन्य व्यक्ति पनि पहिचान भएका छन् । आवश्यकताअनुसार पक्राउ गर्ने योजना छ । यसअधि सोही सञ्जालका व्यवसायी नवीनराज बस्नेतलाई सीआईबीले असोज २३ गते मेरियट होटलबाट पक्राउ गरेको थियो ।