‘मीना दिदी शैक्षिक पुरस्कार–२०८३’ शिक्षिका अनुजा अधिकारी आचार्यलाई प्रदान गरिएको छ। काठमाडौँको बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पसको डेनिस हलमा आज आयोजित समारोहमा आचार्यलाई नगद रु. ५० हजारसहित सम्मानपत्र प्रदान गरिएको हो।
शिक्षण क्षेत्रमा पुर्याएको योगदान तथा २०८३ साल भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको भयावह परिस्थितिमा अदम्य साहस, उच्च मानवीय संवेदना र कर्तव्यनिष्ठाका साथ विद्यार्थीहरूको जीवनरक्षामा निर्वाह गरेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै आचार्यलाई उक्त पुरस्कार प्रदान गरिएको हो।
त्यसैगरी, उक्त विपद्का समयमा विद्यार्थीको जीवनरक्षामा निर्वाह गरेको अनुकरणीय भूमिकाको कदर गर्दै रसुवाको उत्तरगया गाउँपालिका–५ का सुमन विश्वकर्मालाई नगद रु. २५ हजारसहित ‘मीना दिदी सम्मान’ प्रदान गरिएको छ।
पुरस्कार तथा सम्मान मीनाकुमारी कार्कीका छोरीहरू एवं पुरस्कारका संस्थापक डा. आरती कार्की र साहित्यकार डा. नीलम कार्की निहारिका, मीना दिदी पुरस्कार समितिका अध्यक्ष उमानाथ पोखरेल तथा पाल्पाली सङ्गमका कार्यवाहक अध्यक्ष केशव आचार्यले संयुक्त रूपमा प्रदान गरेका थिए।
समारोहमा मीनाकुमारी कार्कीका पूर्वविद्यार्थी तथा पछि एउटै विद्यालयमा सँगै शिक्षण गरेका सहकर्मी एवं मीना दिदी पुरस्कार समितिका अध्यक्ष उमानाथ पोखरेलले मीनाकुमारीको जीवनसङ्घर्ष, शिक्षणप्रतिको समर्पण तथा ग्रामीण क्षेत्रमा शिक्षाको विकास र विस्तारका लागि उनले पुर्याएको योगदानबारे चर्चा गरेका थिए। महिलाहरूका लागि शिक्षाको अवसर अत्यन्त सीमित रहेको तत्कालीन सामाजिक परिवेशमा मीनाकुमारी गाउँका घरघरमा पुगेर अभिभावकलाई छोरीहरू पढाउन आग्रह गर्नुका साथै बालबालिकालाई विद्यालय आउन उत्प्रेरित गर्ने गरेको उनले स्मरण गरे। आफ्ना सन्तानलाई समेत उच्च शिक्षा दिलाएर मीनाकुमारीले जिल्लामै अनुकरणीय उदाहरण प्रस्तुत गरेको उनले बताए।
पद्मकन्या बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुखले शिक्षण क्षेत्रमा समर्पित व्यक्तित्वहरूको योगदानको पहिचान र सम्मान गर्ने यस्ता पुरस्कारले शैक्षिक क्षेत्रको विकास तथा शिक्षकहरूलाई उत्प्रेरित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
समारोहमा नेपाल दृष्टिविहीन कल्याण सङ्घकी केन्द्रीय सदस्य एवं अपाङ्गता अधिकारकर्मी निर्मला ज्ञवालीले पुरस्कृत तथा सम्मानित व्यक्तित्वहरूको परिचय प्रस्तुत गर्दै उनीहरूले पुर्याएको योगदान र निर्वाह गरेको साहसिक भूमिकाबारे चर्चा गरेकी थिइन्।
‘मिस कस्मो नेपाल–२०२४’ एवं युवा समाजसेवी निमिता रेग्मीले अध्ययनको कुनै अन्त्य हुँदैन र जीवनभर अध्ययन गरिरहनुपर्छ भन्ने मीनाकुमारी कार्कीको विचारले आफूहरूलाई निरन्तर प्रेरित गरेको बताइन्। महिलाहरू परिवार र समाजका आधारस्तम्भ हुन् भन्ने मीनाकुमारीको धारणालाई आफूले गहिरोसँग आत्मसात् गरेको उल्लेख गर्दै उनले मीनाकुमारीबाट प्राप्त प्रेरणा र मार्गदर्शनलाई अनुकरण गर्दै आफू पनि समाजसेवाको बाटोमा अघि बढिरहेको बताइन्।
समारोहमा पुरस्कृत शिक्षिका अनुजा अधिकारी आचार्य र सम्मानित सुमन विश्वकर्माले भोटेकोशीमा बाढी आएको दिनको भयावह परिस्थिति र विद्यार्थीहरूको जीवनरक्षाका लागि आफूहरूले गरेका प्रयासबारे अनुभव सुनाएका थिए। उनीहरूले सुनाएका घटनावृत्तान्तले समारोहमा उपस्थित सबैलाई भावुक बनाएको थियो।
विसं २०२३ सालदेखि शिक्षण पेसा सुरु गरेकी मीनाकुमारी कार्कीले अर्घाखाँची तथा पाल्पाको गोठादी र झडेवामा गरी २७ वर्ष शिक्षण गरेकी थिइन्। पाल्पाको झडेवास्थित किसान माध्यमिक विद्यालयकी प्रथम महिला शिक्षिका कार्कीले ग्रामीण क्षेत्रमा महिला शिक्षाको विस्तार तथा सामाजिक रूपान्तरणका लागि महत्त्वपूर्ण योगदान पुर्याएकी थिइन्।
उनको योगदानको स्मरण गर्दै छोरीहरू डा. आरती कार्की र साहित्यकार डा. नीलम कार्की निहारिकाले ‘मीना दिदी शैक्षिक पुरस्कार’ स्थापना गरेका हुन्।
गत वर्ष पहिलोपटक ‘मीना दिदी पुरस्कार–२०८२’ बैतडीकी प्रथम महिला शिक्षिका कृष्णा बिष्टलाई प्रदान गरिएको थियो। यस वर्ष पुरस्कारका साथै विद्यार्थीको जीवनरक्षामा विशेष योगदान पुर्याउने व्यक्तित्वलाई सम्मानसमेत प्रदान गरिएको हो।
समारोहमा पाल्पाली सङ्गमका पदाधिकारी तथा सदस्यहरूका साथै विभिन्न क्षेत्रका शिक्षाविद्, बुद्धिजीवी, पत्रकार, लेखक, साहित्यकार एवं स्रष्टाहरूको उपस्थिति रहेको थियो। आगामी वर्ष २०८४ देखि ‘मीना दिदी शैक्षिक पुरस्कार’को राशि वृद्धि गरी एक लाख रुपैयाँ पुर्याइने मीना दिदी पुरस्कार समितिले जनाएको छ।