भक्तपुर, कात्तिक १४ :

चाँगुनारायण नगरपालिकाको तलकोटबाट यात्रु बोकेर आएको यात्रुवाहक बस आज खरिपाटीस्थित घुमाउनेमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् । 
    
नगरपालिका कार्यालयसँगै घुमाउनेमा तीव्र गतिमा आएको प्रदेश- ३- ०१- ००६ ख ०३१२ नंको बस अनियन्त्रित भई सडकको खम्बामा ठोक्किएर दुर्घटना हुँदा १० जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी परिसरका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीले जानकारी दिनुभयो । 

घाइतेहरूको भक्तपुर अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।
    
दुर्घटनाका प्रत्यक्षदर्शी गोकर्ण पुरीले बस दुर्घटनामा घाइतेको आफूहरूले उद्धार गरी एम्बुलेन्समा हालेर भक्तपुर अस्पताल पठाएको र अगाडि बस्ने दुईजनाको अवस्था भने गम्भीर रहेको जानकारी दिनुभयो ।

बस खम्बामा ठोक्किएर दुर्घटना हुँदा विद्युत्को खम्बासमेत भाँचिएको उहाँले जानकारी दिनुभयो ।