काठमाण्डौँ , कात्तिक १६ :

यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मिठो खानेकुरा खान दिएर मनाइएको छ ।

कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मिठो खान दिएमा यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहज रुपमा बाटो छोडिदिने धार्मिक विश्वास रहेकाले आज कुकुरको पूजा गरी मिठो खान दिने परम्परा रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । 

घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमा स्थापित भएको छ । 

तिथिको घटबढका कारण धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गर्ने पर्व पनि आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । आजै साँझ दीपावली गरी लक्ष्मी पूजाको तयारी भइरहेको छ ।

हिन्दू धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड तिहार यस वर्ष मङ्गलबारदेखि सुरु भएको हो । यमपञ्चकको पहिलो दिन मङ्गलबार नयाँ भाँडा किनी घरमा ल्याई राखेर धनतेरस पर्व मनाइएको थियो । 

दोस्रो दिन बुधबार सन्देशवाहकका रुपमा कागको पूजासहित मिठा खानेकुरा खान दिई मनाइएको छ । आयुर्वेदका प्रवर्तक धनवन्तरी जयन्ती पनि यसै दिन मनाइएको थियो । सोही दिनको साँझदेखि यम दीपदान पनि सुरु भएको छ ।