अछाम, कात्तिक १६ :

अछामको रिडिकोटमा जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । 

लु १ ज ४७११ नम्बरको जिप ब्रेक फेल हुँदा बाजुराका चार जना घाइते भएका हुन् ।

बयलपाटाबाट बाजुरा जाँदै गरेको जीप रिडिकोटस्थित मध्यपहाडी लोकमार्गको नालीमा पल्टिँदा बाजुराको त्रिवेणी नगरपालिका- ६ बस्ने १९ वर्षीया नन्दा बुढा, बुढीगङ्गा नगरपालिका- ४ बस्ने २७ वर्षीय राजेन्द्र लुहार र उहाँका छोरा छ वर्षीय सक्षम लुहार तथा बाजुराकै खप्तड छेडेदह गाउँपालिका- ३ का गाडी चालक २३ वर्षीय रोहित रावत घाइते भएका हुन् ।

घाइतेमध्ये नन्दा बुढाको टाउको र मुखमा गम्भीर चोट लागेको छ भने अन्य सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो । 

घाइतेको अछामस्थित न्याय हेल्थ बयलपाटामा उपचार भइरहेको छ । गाडी चालक प्रहरीको नियन्त्रणमा छन् ।