काठमाडौँ, कात्तिक १७ :

काठमाडौँ उपत्यकामा सुरक्षा निकायको कडा निगरानीकाबीच पटका पड्किने क्रम भने यो तिहारमा रोकिएको छैन । 

काठमाडौँको मुख्य मार्गभन्दा भित्री तथा काठ क्षेत्रमा अत्यधिक रुपमा पटका पड्किने गरेका छन् । हिजो लक्ष्मी पूजाको साँझदेखि नै पटका पड्काउने क्रम बढेको र आज पनि सो क्रम जारी छ । 

लगातार पटका पड्काउँदा नागरिकमा ध्वनि प्रदूषणसमेत भएको छ ,भने आगलागीको जोखिम पनि बढेको चन्द्रागिरी निवासी शरण शर्माले बताउनुभयो । 

सुरक्षा निकायले मुख्य मार्ग तथा काठमाडौँको ‘कोर’ क्षेत्रमा उपस्थिति देखिए पनि भित्री सडकहरूमा न्यून रुपमा मात्रै गस्ती भइरहेकोले पनि पटका भित्रिने र पड्काउने क्रम नरोकिएको हो । 

नेपाल प्रहरीले भने पटका तथा विष्फोटक पदार्थ नियन्त्रणमा उपत्यकाका १० वटै नाकामा सुरक्षा निगरानी बढाइएको तथा विभिन्न क्षेत्रमा जाँच अभियान तीव्र भइरहेको दाबी गरेको छ ।
 
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दानबहादुर कार्कीले तिहारमा जुवातास तथा पटकाजन्य पदार्थको प्रयोग बढी हुने भएकाले पनि त्यसलाई केन्द्रित गरेर सुरक्षा निगरानी बढाइएको बताउनुभयो ।

प्रहरीलाई छलेर यस्ता गतिविधि छिटफुट घटना भएमा पक्राउ गर्ने र कारबाही गर्ने गरिएको प्रहरीले जनाएको छ । 

पटका नियन्त्रण अभियानकै क्रममा त्यस्ता व्यक्तिलाई पक्राउ गरी उपत्यकामा मुद्दा समेत चलाइएको प्रहरीले जनाएको छ । 

विष्फोटक पदार्थसम्बन्धी कसुर आकर्षित हुने भएकाले यस्ता गतिविधि गर्नेहरुलाई सोहीअनुसार मुद्दा चलाइएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।