काठमाण्डौँ , कात्तिक २० :

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले भारतमा सुरु भएको अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) सम्मेलनमा सहभागिता जनाउनुभएको छ ।

भारतको राजधानी नयाँदिल्लीमा हिजोदेखि सातौँ गठबन्धन सम्मेलन सुरु भएको हो । मन्त्री खड्का उक्त सम्मेलनमा भाग लिन हिजो नै नयाँदिल्ली प्रस्थान गर्नुभएको थियो।

सन् २०१५ मा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप-२१) को २१ औँ सत्रमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको घोषणा गरिएअनुसार उक्त गठबन्धनको सातौँ सम्मेलनमा मन्त्री खड्का सहभागी हुनुभएको विद्युत् विकास विभागका महानिर्देशक नविनराज सिंहले जानकारी दिनुभयो । 

कोप- २१ सम्मेलनमा भाग लिएका करिब एक सय २० राष्ट्रका प्रमुखले सौर्य ऊर्जाको प्रवर्द्धनका लागि क्रियाशील गठबन्धनमा आफ्नो सहभागिता हुने प्रतिबद्धता जनाएका थिए । 

उक्त सम्मेलनमा विश्वभर ऊर्जा पहुँच बढाउन, ऊर्जा सुरक्षा सुनिश्चित गर्न र ऊर्जा विकासलाई निर्देशित गर्ने माध्यमको रुपमा सौर्य ऊर्जा प्रविधिको बढ्दो उपयोगबारे छलफल हुने महानिर्देशक सिंहले बताउनुभयो ।

अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको अध्यक्ष, सह- अध्यक्ष, महानिर्देशकलगायत पद सहितको नयाँ कार्यसमिति चयन गरिने छ ।
 
सम्मेलनले जलवायु परिवर्तन कम गर्न नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिमा पेस गरेको दोस्रो राष्ट्रिय निर्धारित योगदान कार्यान्वयनमा सहयोग पुग्ने महानिर्देशक सिंहको भनाइ छ । 

सन् २०४५ सम्ममा कार्बन उत्सर्जन शून्यको लक्ष्य हासिल गर्ने नेपाल सरकारको प्रतिबद्धता अनुरुप सौर्य जस्ता स्वच्छ ऊर्जाको अधिकतम विकास एवं प्रवद्र्धनबाट स्वच्छ ऊर्जा सङ्क्रमण कार्यान्वयनमा सहयोग पुग्नेछ ।

विद्युत्को माग र आपूर्तिबीचको सन्तुलन कायम गर्न सौर्य ऊर्जा विकासको माध्यमबाट ऊर्जा मिश्रणको सहायताले ऊर्जा सुरक्षा हासिल गर्न मद्दत पुग्ने बताइएको छ । 

सम्मेलनमा हरित विकास, जलवायु परिवर्तन र सौर्य ऊर्जा विकाससँग सम्बन्धित विश्वमा भएका सफल अभ्यास आदानप्रदान गरिनेछ ।