नवलपरासी, कात्तिक २४ :

नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको आयोजनामा नवलपरासी (बर्दघाट- सुस्तापूर्व) को गैँडाकोटमा सञ्चालन हुन लागेको ‘दोस्रो गण्डकी प्रदेश महोत्सव- २०८१’ का लागि प्रदर्शनीस्थल निर्माण धमाधम भइरहेको छ ।

महोत्सव यही कात्तिक २६ गतेदेखि मङ्सिर १० गतेसम्म गैँडाकोट- २ स्थित नारायणी नदी किनारमा सञ्चालन हुनेछ । 

महोत्सवमा नेपालमा पहिलो पटक ‘अन्डरवाटर फिस टनेल’ राखिने भएको छ । नेपालमै पहिलो पटक पानी भरिएको टनेलभित्र गएर माछा हेर्ने व्यवस्था गर्न लागिएको हो । 

महोत्सव भित्र दुई सय फिट लम्बाइ तथा ६० फिट चौडाइ भएको टनेलमा विभिन्न प्रकारका माछा राखेर हेर्ने व्यवस्था गर्न लागिएको राजधानी एम्युजमेन्ट राइट्स नेपालका व्यवस्थापक अभय चौधरीले जानकारी दिनुभयो । 

 टनेल हेर्नका लागि नेपालबाट बर्सेनि धेरै मान्छे दुबई जाने गरेका छन् । दुबईमा देख्न पाइने टनेलको माछा अब गैँडाकोटमा सञ्चालन हुने महोत्सवमा देख्न पाइने र यो नेपालमै पहिलो र एकमात्रै प्रविधि भएको उहाँको भनाइ छ ।

टनेलभित्र पानीमा राखिने माछाको लम्बाइ ६ फिटसम्मको हुने भन्दै चौधरीले ती माछाहरू चीनबाट ल्याइएका तथा विभिन्न रङ्ग र आकारका भएका बताउनुभयो ।  

टनेलभित्र एकै पटक पाँच सय जना मान्छे प्रवेश गरेर माछा हेर्ने व्यवस्था गर्न डोम निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो ।