
राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट काठमाडौँका लागि प्रस्थान गर्नुभएको छ ।
उहाँलाई महाद अन्तर्राष्ट्रिय विमानस्थलमा दोहास्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राईका साथै उक्त दूतावासका पदाधिकारी र कतार सरकारका शिष्टाचार अधिकारीले बिदाई गर्नुभएको थियो ।
अजरबैजानको बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप- २९ मा सहभागी भएर बिहीबार साँझ कतारको दोहा आइपुग्नुभएको थियो ।
अजरबैजानका राष्ट्रपति इल्हम अलियेभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डल यही कात्तिक २५ गते बाकुतर्फ प्रस्थान गरेको थियो ।
राष्ट्रपति पौडेलले कोप- २९ अन्तर्गत गत मङ्गलबार उच्चस्तरीय सत्रको ‘विश्व नेताहरु जलवायु कार्य शिखर सम्मेलन’ लाई सम्बोधन गर्दै हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने वास्तविकतालाई मनन गर्न विश्व समुदायलाई आह्वान गर्नुभएको थियो ।
राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डलमा प्रथम महिला सविता पौडेल, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, राष्ट्रपतिका विज्ञ एवं सल्लाहकार सहित उच्चपदस्थ सरकारी अधिकारीहरू सम्मेलनमा सहभागी हुनुभयो ।
यही कात्तिक २६ देखि सुरु भएको कोप- २९ आगामी मङ्सिर ७ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनको नारा ‘न्यू कलेक्टिभ क्वान्टिफाइड गोल (एनसिक्युजी)’ रहेको छ ।