
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) राष्ट्रका निजी क्षेत्रका प्रतिनिधिहरूलाई नेपालमा व्यावसायिक उद्यम र लगानी बढाउन आग्रह गर्नुभएको छ ।
कन्फेडेरेसन अफ इन्डियन इन्डष्ट्रिजले विदेश मन्त्रालयसँगको सहकार्यमा आयोजना गरेको मन्त्रिस्तरीय बिम्स्टेकको व्यापार शिखर सम्मेलनलाई सम्बोधन गदै मन्त्री भण्डारीले क्षेत्रीय मूल्य शृङ्खला र व्यापारमा नेपालको एकीकरणलाई सहयोग पुर्याउन आग्रह गर्नुभएको हो।
यो फोरम क्षेत्रभित्र व्यापार, लगानी, पर्यटन र ‘कनेक्टिभिटी’ जस्ता क्षेत्रमा नेटवर्किङ र व्यापार सहयोग सुधार गर्न सहायक हुने मन्त्री भण्डारीले बताउनुभयो । नेपालले व्यापार, लगानी, दिगो कृषि अभ्यास, कनेक्टिभिटी, ऊर्जा र वातावरणीय सुरक्षा तथा जलवायु परिवर्तनका लागि अनुकूलन र न्यूनीकरण रणनीतिमा सुधारिएको सहयोगलाई प्राथमिकता दिने उहाँको भनाई थियो ।
बिम्स्टेकभित्रका सामूहिक प्रयासहरूले विविध र जीवन्त क्षेत्रको आर्थिक परिदृश्यलाई रूपान्तरण गरि साझा वृद्धि तथा विकासका अवसरहरूलाई बढावा दिने शक्ति रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।
सुदृढ क्षेत्रीय सहयोगले अर्थतन्त्रको पूर्ण क्षमतालाई केही सुधार गर्न, थोरै रोजगारी सिर्जना गर्न र जनताको जीवनस्तरमा सुधार ल्याउन मद्दत गर्नसक्ने मन्त्री भण्डारीको भनाइ थियो ।
बङ्गालको खाडी क्षेत्रमा दिगो विकास र समृद्धिका साझा लक्ष्य हासिल गर्न बिम्स्टेक भित्र उत्पादनशील, जनकेन्द्रित र कार्यमुखी सहकार्यका लागि नेपाल सदैव तयार हरने मन्त्री भण्डारीले प्रतिबद्धता जनाउनुभयो ।
सम्मेलन मङ्गलबारदेखि नयाँदिल्लीमा जारी छ ।