काठमाडौं, माघ ८ :

काठमाडौं महानगरपालिकाले सवारी प्रदूषण जाँच गरेका १२० सवारीसाधनमध्ये ६९ वटा फेल भएका छन् । यीमध्ये डिजेलबाट चल्ने ६३ वटा र पेट्रोलबाट चल्ने ६ वटा सवारीसाधन छन् । जाँचका क्रममा १ सय वटा डिजेलबाट चल्ने र २० वटा पेट्रोलबाट चल्ने सवारीसाधन परीक्षण गरिएको थियो ।

टेकुमा (आइतबार) जाँच गरिएका ४० सवारीसाधनमध्ये ३३ वटा फेल भएका छन् । माघ ४ गते सिनामंगल क्षेत्रमा २० सवारीसाधनको जाँच गर्दा १० प्रदूषण मापदण्डबाहिरका पाइए । माघ ३ गते पानीपोखरी क्षेत्रमा २० सवारीसाधनको जाँच गर्दा १४ वटा फेल भएका साधन भेटिए ।

माघ २ गते जमल क्षेत्रमा २० वटाको जाँच गर्दा ६ वटा फेल थिए । पुस २९ गते बबरमहलमा २० वटा परीक्षण गर्दा ६ वटा फेल थिए । यसरी गरिएको परीक्षणमा मापदण्डबाहिर रहेका सवारीसाधनलाई मर्मत गर्न, त्यसपछि पुनः परीक्षण गराउन र मापदण्डभित्र मात्र सञ्चालन गर्न कबुलियतनामा गराइएको छ । यससँगै अर्कोपटकको जाँचमा गल्ती दोहारिए जरिवाना गर्न सचेत गराइएको वातावरण निरीक्षक सृष्टि श्रेष्ठले जानकारी दिइन् ।


वायु प्रदूषण नियन्त्रणका प्रयासमध्ये सवारीसाधनबाट निस्कने प्रदूषक तत्त्व न्यूनीकरण तथा नियन्त्रणका लागि महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले नेपाल सरकारको वातावरण विभाग, उपत्यका ट्राफिक प्रहरी कार्यालय र महानगर प्रहरी बलसँगको सहकार्यमा स्थलगत जाँच गरिरहेको छ ।

सडकमा गुड्ने अन्य सवारीसाधनसँग आफैँले प्रयोग गर्ने सवारीसाधनको गुणस्तरका लागि प्रशासन विभागले मातहतका विभाग, सचिवालय, आयोजना, एकाइ र वडा कार्यालयलाई माघ ४ गते परिपत्र गर्दै अन्तर्गत सञ्चालनमा रहेका सवारीसाधनको प्रदूषण जाँचपास गरेर हरियो स्टिकर राख्न तथा सवारीसाधन दर्ता प्रमाणपत्र साथमै राख्न निर्देश गरेको छ ।

महानगरपालिकाले वातावरण सुधारका लागि वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७, प्रदूषण नियन्त्रण मापदण्ड २०८१, फोहरमैला संकलन तथा ढुवानी कार्यविधि २०८१ जारी गरेको छ ।

दुईपांग्रे सवारीसाधनको हकमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ ।

मापदण्डमा पेट्रोलबाट चल्ने सवारीसाधन र डिजेलबाट चल्ने सवारीसाधन र निर्माण अवधिलाई छुट्टाछुट्टै सूचक राखिएको छ । सन् १९८० सम्म उत्पादन भएका चारपाङ्ग्रे सवारीसाधनको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । सन् १९८१ वा त्यसभन्दा पछि उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ३ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ ।

तीनपाङ्ग्रे सवारीसाधनका हकमा सन् १९९१ सम्ममा उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । दुईपांग्रे सवारीसाधनको हकमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ ।

सन् १९९४ सम्ममा उत्पादन गरिएका सबै किसिमका डिजेल सवारीसाधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ७५ हर्टिज स्मोक युनिट (एचएसयू) हुनुपर्छ । सन् १९९५ वा सोभन्दा पछि उत्पादन भएका सवारीसाधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ६५ हर्टिज स्मोक युनिट (एचएसयू) हुनुपर्छ ।

यो मापदण्ड दुईपाङ्ग्रेबाहेक अन्य सवारीसाधनका हकमा २०५४ माघ १ गतेदेखि र दुईपाङ्ग्रे सवारीसाधनका हकमा २०५५ साउन १ गतेदेखि लागु भएको हो । चेकजाँचका क्रममा तोकिएको एकाइभन्दा माथिल्लो अंक देखियो भने प्रदूषण मापदण्डबाहिर हुन्छ ।