काठमाडौं, माघ ९ :

सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको भन्दै दवाब दिन रित्तो गाग्रीसहित काठमाडौं आएका मेयर हर्क साम्पाङको साथबाट प्रहरीले गाग्री खोसेको छ ।  

प्रहरीले रित्तो गाग्री खोसेर मेयर हर्क साम्पाङलाई मात्र  सिंहदरबार छिर्न दिएको छ ।  सांकेतिक रुपमा रित्तो गाग्री बोकेर खानेपानी मन्त्रालय जान आएका मेयर साम्पाङको साथबाट प्रहरीले गाग्री खोसेको हो ।

धरानको खानेपानी समस्या लिएर  उनी रित्तो गाग्रीसहित खानेपानी मन्त्रालय,अर्थ मन्त्रालय र प्रधानमन्त्रीको कार्यालय जाने तयारीका साथ सिंहदरबार छिर्न खोज्दै थिए ।

सिंहरदबार परिसरमा बिहानैदेखि बाक्लो संख्यामा प्रहरी तैनाथ गरिएको छ।  उनी हनुमानस्थानबाट रित्तो गाग्री बोकेर हिँड्दै सिंहदरबार पुगे।

धरानमा अहिले खानेपानी मुख्य समस्याको रुपमा रहेको छ । साम्पाङ पनि पानीकै समस्या समाधान गर्ने आश्वासन दिएर मेयर पदमा विजयी भएका हुन् । उनलाई अहिले आफ्नो प्रतिबद्धता पुरा गर्न बजेट लगायत विभिन्न कारणले समस्या भएको जनाइएको छ ।  

धराने जनतालाई स्थायी रूपमा खानेपानीको व्यवस्था गर्न कोसीको पानी ल्याउनु पर्ने र त्यसका लागि बजेट छुट्याउनैपर्ने उनको अडान छ।