
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनीता डंगोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा कानुनी, व्यवहारिक र बाल संवेगका कुनै पनि असर हुन नहुने बताएकी छन् ।
उनले सानो ठानिएको अवस्थाले व्यक्तिको जीवनमा ठुलो नकारात्मक असर पार्न सक्ने कुराको पूर्वानुमान गर्न सक्नुपर्ने धारणा राखिन् । महानगरपालिकाका बाल उद्धार कार्यदलका सदस्यहरुका लागि प्रदान गरिएको सातदिने तालिमको समापन अवसरमा उनले बाल उद्धार कार्यदलका सदस्यहरुमा ज्ञान वा सीप नभएका कारण त्रुटि नहोस् भन्नेमा आफू सचेत रहेको बताइन् ।
‘काम गर्दाको मनसाय सही हुनुपर्छ, मनसाय मात्र सही भएर पुग्दैन, काम गर्दाको प्रक्रिया पनि पूरा भएको हुनुपर्छ । यसकारण मनसाय र प्रक्रियालाई सही हुनुपर्छ,’ उनले उद्धार कार्यलाई निर्देशित गरिन् ।
यसअघि बाल उद्धारका लागि गरिएका अभ्यासबाट प्राप्त सिकाइ र तालिमबाट प्राप्त सैद्धान्तिक ज्ञानबाट कार्यदलका सदस्यहरुमा जोखिम पहिचान, उद्धार र घटना व्यवस्थापनबाट महानगरपालिकाको दायित्व सफलतापूर्वक सम्पन्न हुने अपेक्षा राख्दै सामाजिक विकास समितिका संयोजक रामकुमार केसीले बाल संरक्षणमा महानगरपालिकाले सिकाइयोग्य काम गर्नुपर्ने बताए । ‘संघीय राजधानी व्यवस्थापनका आयाममध्ये बाल बचाऊ महत्त्वपूर्ण पक्ष हो । यसलाई बिर्सन मिल्दैन,’ उनले भने ।
बालबालिकाको अवस्थाबारे राष्ट्रिय बालअधिकार परिषद्का अधिकृत रामबहादुर चन्दले जोखिमपूर्ण श्रममा भएका बालबालिकासँगै बालबालिकाविरुद्ध हुने हिंसा, वास्तविक सडक बालबालिका, सडकमा माग्न बसेका बालबालिका, बेवारिसे तथा बेवारिसे अपांगता भएका बालबालिका, गैरकानुनी रुपमा ओसारपसारमा परेका बालबालिकाका आफ्ना-आफ्नै समस्या रहेको उल्लेख गरे । महानगरपालिकासँग यी र यस्ता विभिन्न अवस्थामा रहेका बालबालिकालाई संरक्षण गर्न सक्ने क्षमता महानगरपालिकासँग रहेको उनको भनाइ थियो ।
महानगरपालिकाले जोखिममा रहेका बालबालिकाको उद्धार गरेपश्चात जैविक अभिभावक खोजी गर्दा सम्बन्धित स्थानीय तहबाट विवरण प्राप्त हुन थालेको छ । बाल कल्याण अधिकारी शान्ता पहाडीले अनुभव सुनाउँदै भनिन्, ‘हामीले उद्धार गरेका बालबालिकालाई जैविक मातापिताबाट संरक्षण हुन नसक्ने बताउँदै महानगरपालिकाको अस्थायी संरक्षणका लागि सिफारिस प्राप्त भएका छन् ।’
पुस २८ गते सुरु भएको तालिममा बाल कल्याण अधिकारी, सामाजिक विकास विभाग, शिक्षा विभाग, महानगर प्रहरी बल, कल सेन्टरका प्रतिनिधि, बालबालिका खोजतलास सेवा, बाल हेल्पलाइन १०९८, समाजसेवी, बाल मनोविज्ञ, महानगर बालअधिकार समितिका सदस्य गरी ३४ प्रशिक्षार्थी सहभागी थियो ।
बालअधिकार, बाल संरक्षण, बाल उद्धार कार्यदलको भूमिका, घटना व्यवस्थापन, घटना व्यवस्थापन, उपसमितिको भूमिका बाल उद्धार आचारसंहितालगायत विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।
तालिमका प्रशिक्षार्थी नगर प्रहरी जवान गंगा ढुंगानाले तालिमबाट बालबालिकाको अधिकार, अवस्था र संरक्षणका कानुनबारे स्पष्ट हुन पाएको उल्लेख गरिन् । यसबाट सिकेको सीपबाट बालबालिकाको उद्धारमा आत्मविश्वाश बढेको उनको प्रतिक्रिया थियो ।
महानगरपालिकामा उपप्रमुखको संयोजकत्वमा महानगर बालअधिकार समिति गठन गरिएको छ । सोही समितिअन्तर्गत वडासदस्य रसला तण्डुकारको संयोजकत्वमा बाल उद्धार कार्यदल र वडासदस्य सृष्टि कंसाकारको संयोजकत्वमा घटना व्यवस्थापन उपसमिति गठन भएको छ ।
महानगरपालिकाको बाल संरक्षण तथा बालअधिकारसम्बन्धी कार्यविधि २०८० ले, महानगरपालिका क्षेत्रभित्र विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको उद्धार गर्न र उद्धार गरिएका बालबालिकाको अस्थायी संरक्षणलगायत कार्यमा सघाउन बाल उद्धार कार्यदल गठन गर्न सक्ने व्यवस्था गरेको छ ।
यसरी गठन गरिएको कार्यदलमा रहने कर्मचारीलाई बालअधिकार, बाल संरक्षण उद्धार कार्यको प्रक्रिया, घटना व्यवस्थापन र उद्धार टोलीले पालना गर्नुपर्ने आचारसंहितालगायत विषयमा तोकिएको पाठ्यक्रमबमोजिम कम्तीमा ७ दिनको प्रशिक्षण प्रदान गर्नुपर्ने व्यवस्था छ । यसैअनुरुप तालिम सञ्चालन गरिएको हो ।
कार्यदलले विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको पहिचान गर्ने, खोजी गर्ने, सूचना दिने, उद्धार गर्ने र उद्धार गरिएकालाई अस्थायी संरक्षणमा सहयोग गर्ने कार्यदलको काम हो ।
कार्यदलका सदस्य प्रवीण सिलवालका अनुसार बालक ३९ र बालिका ३१ जना गरेर अहिलेसम्म ७० बालबालिकाको उद्धार गरिसकिएको छ । उनीहरुमध्ये ३६ जना बाल संरक्षण गृहमा छन् । ३३ जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ । यातायात क्षेत्रबाट उद्धार गरिएका एकजना बालक अस्थायी संरक्षण गृहबाट भागेर हिँडेका छन् । उनको खोजी भइरहेको छ ।
