
नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा सभापति कप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उद्घाटन खेलमा चर्च ब्वाइज र सङ्कटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
नकआउट चरणमा हुने उक्त प्रतियोगितामा विभिन्न आठ टिमको सहभागिता रहनेछ । उक्त प्रतियोगितामा सहभागी टिमले तयारी राम्रो भएको बताएका छन् ।
उक्त प्रतियोगिताको खेल हेर्न आउने दर्शकका लागि भिआइपी प्याराफिटतर्फ तीन सय र साधारणतर्फ एक सय टिकट मूल्य निर्धारण आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले २६ लाख पुरस्कार पाउनेछ भने उपविजेता टोलीले १३ लाख प्राप्त गर्नेछ ।
यसैगरी हरेक खेलमा म्याच फि का रूपमा प्रत्येक टिमले ५० हजार पाउनेछन् भने प्लेयर अफ दी म्याचलाई १५ हजार प्रदान गरिनेछ ।
सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलकिपरलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार र उदीयमान खेलाडीलाई २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।