वासिङ्टन, माघ १६ :

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार गाजाका प्यालेस्टिनीहरूलाई इजिप्ट वा जोर्डन जस्ता ‘सुरक्षित’ स्थानहरूमा सार्ने आफ्नो इच्छा भएको दोहोर्याएका छन् ।

उनले शनिबार इजरायल र हमासबीचको १५ महिनाभन्दा बढी चलेको युद्धले प्यालेस्टिनी क्षेत्रलाई ‘भग्नावशेष’ मा परिणत गरेपछि गाजालाई ‘सफा गर्ने’ विचार अघि सारेका थिए ।

“म तिनीहरूलाई बिना अवरोध र क्रान्ति र हिंसा बिना बस्न सक्ने क्षेत्रमा बसोबास गराउन चाहन्छु”, ट्रम्पले सोमबार साँझ एयर फोर्स वनमा पत्रकारहरूलाई भनेका छन्, “तपाईंहरूलाई थाहा छ, जब तपाईं गाजा पट्टीलाई हेर्नुहुन्छ, यो धेरै वर्षदेखि नरक जस्तै छ, यहाँ सधैँ हिंसा जोडिएको छ ।”

दुई- राज्य समाधानका लागि यसको अर्थ के हुन्छ भन्ने प्रश्नमा उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग वासिङ्टनमा ‘चाँडै नै’ भेट गर्ने बताए ।

ट्रम्पले हालैका दिनहरूमा जोर्डनका राजा अब्दुल्लाह द्वितीय र इजिप्टका राष्ट्रपति अब्देल फताह अल- सिसीसँग पनि वार्ता गरेका थिए । अल- सिसीले ऐतिहासिक रूपमा प्यालेस्टिनीहरूलाई विस्थापित गर्ने कुराको विरोध गर्दै आएका छन् ।

ट्रम्पले अल- सिसीलाई धेरै मद्दत गरेको भन्दै उनले आफुहरुलाई मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् । साथै यो एक कठिन छिमेक रहेकाले जोर्डनका राजाले पनि सहयोग गर्ने उनले बताए ।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणले प्रेरित युद्धले गाजा पट्टीका करिब २४ लाख बासिन्दा विस्थापित भएका छन् ।

पछिल्लो छ हप्तादेखि युद्धविराम चलिरहेको छ । युद्धविरामले गाजामा रहेका करिब एक हजार नौ सय प्यालेस्टिनी कैदीको सट्टामा ३३ जना बन्धकलाई रिहा गर्न अनुमति दिइएको छ ।

अन्तिम चरणमा गाजाको पुनर्निर्माण र बन्धकमा मृत्यु भएकाहरूको शव फिर्ता गर्ने काम समावेश हुनेछ ।

पूर्व राष्ट्रपति जो बाइडेनको प्रशासनले गाजाको युद्ध- पश्चातको अवधिका लागि विभिन्न योजनाहरू तयार गरेको थियो तर ट्रम्पले अहिलेसम्म त्यसलाई बाहिर ल्याएका छैनन् । - एएफपी