काठमाडौं, माघ २२ :

राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले वसन्त पञ्चमी तथा सरस्वती पूजाका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवले एक सन्देशमार्फत शुभकामना दिएका हुन् ।

राष्ट्रपति पौडेलले वसन्त श्रवण र सरस्वतीपूजाले जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन खोज प्रेरित गरिरहने पर्व रहेको बताएका छन् । शुभकामना सन्देशमा भनिएको छ, ‘वसन्त श्रवण र सरस्वतीपूजा केवल औपचारिकता मात्र होइन, हाम्रो जीवनलाई सदैव उर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने पर्व पनि हो । यस पर्वले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीच एकता कायम गरी मौलिक धार्मिक संस्कृतिको संरक्षण एवम् सम्वर्द्धन गर्दै सबै नेपालीहरूमा विद्याकी देवी सरस्वतीको कृपा रहिरहोस् भनी पुन:हार्दिक शुभकामना  व्यक्त गर्दछु ।’

उनले मानवजीवन र प्रकृतिको निकटतालाई यो पर्वले दर्शाउनेसमेत बताएका छन् । राष्ट्रपति पौडेलले विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा आजको दिनले प्रेरणा प्रदान गर्ने भनेका छन् । ‘नवीन कार्यको प्रारम्भ गर्न चाहनेहरूले र लगनको साइत जुराउनुपर्ने विवाह, व्रतबन्ध आदि जस्ता शुभकार्यका लागि यस दिनलाई रोजी विवाह, व्रतबन्ध आदि गर्ने प्रचलन पनि रहिआएको छ,’ सन्देशमा भनिएको छ, ‘आजको दिनलाई सरस्वती जन्मोत्सवको रुपमा पनि मनाइन्छ । वसन्त ऋतुको प्रारम्भ हुने र सूर्य उत्तरायण हुँदै जाँदा दिन लामो र रात छोटो हुँदै जाडोबाट क्रमश: न्यानो हुँदै जाने हुनाले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाउँछ । साथै, विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा आजको दिनले प्रेरणा प्रदान गर्दछ भन्ने मलाई लागेको छ ।’

ज्ञानको सत्यमार्गमा लम्किन सबैलाई हौसला प्राप्त होस् : उपराष्ट्रपति यादव
यसैबीच उपराष्ट्रपति यादवले पनि देश-विदेशमा रहेका नेपालीजनमा वसन्त पञ्चमी तथा सरस्वती पूजाको शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमार्फत उनले आपसी द्वन्द्व, द्वेष, राग, वैमनस्यता र उच्छृंखलता बिर्सेर परस्पर खुसी साटासाट गर्न वसन्त पञ्चमीले सबैलाई उत्प्रेरित गर्दै शिक्षा र ज्ञानको सत्यमार्गमा लम्किन सबैलाई हौसला प्राप्त होस् भन्ने शुभकामना दिएका छन् ।

‘हाम्रो गणतन्त्रात्मक संवैधानिक व्यवस्था प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु-वेशभूषा आदिलाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई परस्पर जोड्ने काम गरेको छ । भूगोल, क्षेत्र, वर्ग र समुदाय अनुसार चाडपर्वहरुमा विविधता रहेको पाइन्छ । हाम्रो सामाजिक विविधताभित्र सुदृढ र प्रगाढ एकताले नेपालको राष्ट्रिय भावनालाई थप मजबूत बनाउन सहयोग पुगेको छ । आपसी द्वन्द्व, द्वेष, राग, वैमनस्यता र उच्छृंखलता बिर्सेर परस्पर खुसी साटासाट गर्न वसन्त पञ्चमीले सबैलाई उत्प्रेरित गर्दै शिक्षा र ज्ञानको सत्यमार्गमा लम्किन सबैलाई हौसला प्राप्त होस्,’ उपराष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।  

उनले यो पर्वले आपसी मेलमिलाप, प्रेम र एकताको भावना प्रवर्धनमा सहयोग पुग्ने विश्वास पनि व्यक्त गरेका छन् । ‘यो शुभ अवसरलाई सबैले आ-आफ्नो नकारात्मक सोच, विचार र मानसिकता परित्याग गरी आफूभित्र सकारात्मकता भर्ने महत्त्वपूर्ण तिथिका रुपमा लिन सक्नुपर्छ,’ उपराष्ट्रपतिको सन्देशमा भनिएको छ, ‘ यस अवसरमा गरिने वसन्त श्रवण र सरस्वती पूजाले सिंगो मानव जीवनमा सँधै ऊर्जाशील र नयाँ खोज गर्न प्रेरित गर्न सकोस् । वसन्त पञ्चमीले सबैको जीवनमा आनन्द, समृद्धि र शान्ति ल्याओस् भन्ने कामनासहित सम्पूर्ण नेपाली जनतालाई  पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

यस अवसरमा विद्या, ज्ञान, बुद्धि, कला र संगीतको प्रतिकका रुपमा देवी सरस्वतीको पूजा-अर्चना गर्ने हिन्दू विधान र पौराणिक परम्परा रही आएको छ । शैक्षिक संस्थाहरुले नृत्य, गीत-संगीतको विशेष आयोजना गर्दै विद्याको अधिष्ठात्री सरस्वती देवीको पूजा-अर्चना गर्छन् । यस अवसरमा किताब, कलम, कपी, वाद्य उपकरण आदिको पूजा गर्ने परम्परा पनि छ । यसले विद्या र संगीत साधनामा प्रयोग हुने सामग्रीहरुलाई सबैले सम्मान गर्न सक्नु पर्दछ भन्ने संदेश दिन्छ । आजको दिन अभिभावकहरुले आ-आफ्ना बालबालिकाहरुलाई विद्याध्ययन प्रारम्भ (अक्षरारम्भ) पनि गराउने गर्दछन् ।  

वसन्त पञ्चमीका अवसरमा देशका विभिन्न सरस्वती मन्दिरहरुमा मेला लाग्ने गर्दछ । पछिल्लो समय सार्वजनिक पूजा पन्डालहरुमा सरस्वती देवीको माटोको प्रतिमाहरु स्थापना गरी सामूहिक पूजा-अर्चना गर्ने संस्कृति र परम्परा लोकप्रिय हुँदै गएको छ । यसले ‘सामूहिकतामा एकता’ को मूल मर्मलाई प्रतिबिम्बित गर्दछ । सरस्वतीको प्रतिमाहरु स्थापना भएका स्थानमा भजन–कीर्तन, वसन्त श्रवण र होली-गीतहरुले हाम्रा मौलिक परम्परा र सांस्कृतिक धरोहरको संरक्षण र प्रवर्धनमा सहयोग पुग्दछ । वसन्त पञ्चमीको भोलि पल्ट प्रातःकाल कुनै पवित्र जलाशय वा नदीहरुमा प्रतिमाहरुको विसर्जन गर्ने क्रममा आयोजना हुने धार्मिक झाँकीहरुले रैथाने संस्कृति र रीतिरिवाजको जगेर्नाका लागि उत्प्रेरित गर्दछ । 

वसन्त पञ्चमी पर्व माता सरस्वतीको आविर्भाव दिवसका रुपमा पनि मनाइन्छ । श्रीपञ्चमीका रुपमा समेत मनाइने यो पर्व किसानसँग पनि जोडिएको छ । मधेशमा यस अवसरमा हलोको पूजा गर्ने र खेती-किसानीमा सहयोग गर्नेहरुलाई सम्मान गर्ने परम्परा छ । यसले मौलिक संस्कृतिलाई जीवन्त बनाउन सहयोग पुग्छ । पछिल्लो समय कृषिमा आधुनिकीकरणका कारण यो संस्कृति लोपोन्मुख छ, यसको जगेर्ना जरुरी छ । कृषि क्षेत्र हाम्रो राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड हो, यो पर्वले हामीलाई कृषि र कृषिकर्ममा लाग्नेहरुप्रति सम्मान प्रकट गर्न प्रेरित गर्दछ ।

वसन्त पञ्चमीको अर्को विशेषता, यसले सर्वधर्मलाई स्वीकार गरेको छ । यो हिन्दू श्रद्धालुहरुको लागि मात्रै होइन, बौद्ध, मुस्लिम लगायतका धर्मावलम्बीहरुको लागि उत्तिकै महत्त्वपूर्ण छ । बौद्ध धर्मावलम्बीहरुले बोधिसत्व मञ्जुश्रीको पूजा आराधना गर्छन् । मुस्लिम समुदायले सुफी वसन्तका रुपमा १२औं शताब्दीदेखि मनाउँदै आएको विभिन्न दस्ताबेज र मुस्लिम किम्बदन्तीहरुमा पाइन्छ । यस अर्थमा वसन्त पञ्चमी विभिन्न धर्मावलम्बीहरुको त्रिवेणी उत्सव हो ।