काठमाडौं, माघ २५ :

प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले निरंकुश सोंचका साथ सामाजिक सञ्जाल विधेयक ल्याएको बताएका छन् ।

प्रतिनिधिसभाको आज बैठकलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । ‘अहिलेको सरकारी गठबन्धन बन्दै गर्दा मैले यही सम्मानित रोस्ट्रममा उभिएर चिन्ता जाहेर गरेको थिएँ, पहिलो र दोस्रो दलको सरकार कतै प्रतिगमन र निरंकुशतातिर अग्रसर हुने त होइन ? आज त्यो चिन्ता वास्तविकतामा प्रमाणित भएको छ । राजनीतिक प्रतिशोध र त्यसका लागि राज्यको दुरुपयोग सामान्य हुन थालेको छ,’ उनले भने, ‘अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रित र संकुचित गर्न खोजिँदै छ । सम्झाई-बुझाई गरेर पठाउन सकिने घटनामा समेत नागरिकलाई हतकडी लगाएर एउटा जिल्लाबाट अर्को जिल्ला दगुराइँदै छ । कडा-कडा मुद्दा लगाइँदै छ । यो सत्ताको घमण्ड हो कि जनतासँग डर हो ?’

पाथीभरा केवलकारको विवादमा जनतामाथि गोली चलाइएकामा आपत्ति जनाउँदै उनले पाथीभरा र मुक्लुङको विवादको संवेदनशीलता बुझेर संवाद र समझदारीबाट समाधान खोज्नुपर्नेमा दमनको उल्टो बाटो किन हिँड्दै हुनुहुन्छ ? भनेर प्रश्न गरे । टिसर्टमा कसैको फोटो देखियो भनेर पनि तपाईंहरुले नागरिकलाई नियन्त्रणमा लिने, सार्वजनिक सेवा प्रवाहमा प्रश्न उठाउनेहरुलाई थुन्ने र मुद्दा चलाउउने, सामाजिक सञ्जाल नियमन विधेयक ल्याएर अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई वैधानिक रुपमैं नियन्त्रण गर्न खोज्नु निरंकुश सोंच भएको उल्लेख गर्दै भने, ‘यो के हो ? नागरिक सम्प्रभुताभन्दा माथि हो तपाईंहरु ? संविधानभन्दा माथि हो ? तपाईंहरु मालिक र नागरिक दास हो ?’