
प्रकाश सपुत र परीक्षा लिम्बू स्टारर नेपाली चलचित्र ‘सोल्टिनी’ को छायांकन सकिएको छ । इलाम बजार, बिब्ल्याटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका दृश्यहरू कैद गर्दै ३६ दिनमा चलचित्रको छायांकन सकिएको हो ।
भोजपुरको अन्नपूर्ण गाउँमा भएको यसको ‘इन्ड क्ल्याप’ दृश्यमा कलाकारहरू परीक्षा लिम्बू, सब्बु गुरुङ, कविता आले, सुजाता गुरुङ र प्रेम सुब्बाले अभिनय गरे ।
निर्देशक अर्जुन सुवेदीले चलचित्र ‘सोल्टिनी’ को छायांकन समयमै सकिनुको मुख्य कारण पूर्वतयारी रहेको बताए । ‘सशक्त स्क्रिप्ट, अनुभवी कलाकार र कुशल प्राविधिक टिमकै कारण हामीले निर्धारित समयभित्रै छायांकन सम्पन्न गर्न सफल भयौँ,’ सुवेदी भन्छन्, ‘चलचित्रको प्रत्येक दृश्यलाई सुन्दर बनाउन हामीले छायांकन स्थलको राम्रो अवलोकन गरेका थियौँ । इलाम बजारदेखि भोजपुरसम्मका विविध स्थानहरूको चयनले कथालाई जीवन्त बनाउन मद्दत गर्यो ।’
अब, ‘सोल्टिनी’ को सम्पादन प्रक्रियामा टिम प्रवेश गर्नेछ । निर्देशक सुवेदीले दर्शकलाई फरक स्वादको कथासँग जोड्न चलचित्रले कुनै कसर बाँकी नराख्ने बताए । यस चलचित्रले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावविरुद्ध आवाज उठाउनेछ । साथै, दुई प्रमुख पात्रबीचको प्रेम कथा पनि यसको मुख्य आकर्षण रहनेछ ।
यस चलचित्रमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरूको बाक्लो उपस्थिति छ । जसमा प्रकाश सपुत, विल्सनविक्रम राई, परीक्षा लिम्बू, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडा छन् ।
सपूतले ‘भीमसेन पोखरेल’ र लिम्बूले ‘दिलासा राई’को मुख्य भूमिका निभाउने चलचित्रको घोषणामै बताइएको थियो । यो जोडी पहिलोपटक एकसाथ पर्दामा देखिन लागेको हो ।
चलचित्रको संगीत प्रशान्त शिवाकोटी र हर्कुलस बस्नेतले दिएका छन् भने छायांकन सुशन प्रजापतिले गरेका छन् । प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बनेको यो चलचित्रका निर्माताहरू रेजिना विष्ट र संसार चौलागाईं हुन् ।
ट्राइडेन्ट कन्सेप्टले पब्लिसिटी डिजाइन गरेको छ भने आरआर फिल्मस् प्रालिले नेपाल वितरण गर्नेछ । डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ । चलचित्रलाई २०८२ सालको असोज ३ गते संविधान दिवसको दिन रिलिज गर्ने लक्ष्य राखिएको छ ।