
नेपाली संगीतको इतिहासमा विशेष स्थान राख्ने कालजयी गीत ‘गाजलु ती ठुला ठुला आँखा’को नयाँ भिडियो सार्वजनिक भएको छ । उस्ताद गुलाम अलीको सुमधुर स्वरमा सजिएको यो गीतलाई मविवि शाह (स्वर्गीय राजा महेन्द्र वीरविक्रम शाह) ले रचना गरेका हुन् भने संगीत दीपक जंगमले दिएका छन् ।
यो गीतपहिलो पटक २०४२ साल (सन् १९८५) मा रेकर्ड गरिएको थियो । उस्ताद गुलाम अलीले नेपाल भ्रमणका क्रममा चारवटा गीत रेकर्ड गरेका थिए, जसमा ‘गाजलु ती ठुला ठुला आँखा’ पनि समावेश थियो । तीन दिनको अवधिमा रेडियो नेपालको स्टुडियोमा यो गीत रेकर्ड गरिएको थियो ।
हालै, म्युजिक नेपालले क्रिएटिभ आवर प्रोडक्सन र ड्याड प्रोडक्सनको सहकार्यमा यस गीतको नयाँ भिडियो निर्माण गरी सार्वजनिक गरेको हो । यसको भिडियोमा शंकर श्रेष्ठ र अञ्जना बराइलीले अभिनय गरेका छन् । यसको भिडियोको अवधारणा तयार र निर्देशन सुब्रत आचार्यले गरेका हुन् भने छायांकन उत्सव दाहालले गरेका छन् । भिडियोको सम्पादन विकास दाहालले गरेका छन् ।
हेयर र मेकअपको जिम्मेवारी सुप्रिया आरएल शाहले सम्हालेकी छन् भने स्टाइलिङ आशिम रानाभाटले गरेका छन् । प्रोडक्सन डिजाइनरको रूपमा दीपेन्द्र गौतमले काम गरेका छन् भने सहायक निर्देशक साईब्रत आचार्यले भिडियोको समन्वयमा भूमिका निर्वाह गरेका छन् । क्रिएटिभ निर्देशन जया शर्माले गरेकी छन् ।
‘गाजलु ती ठुला ठुला आँखा’ गीतले नेपाली सङ्गीतप्रेमीहरूको मनमा विशेष स्थान बनाएको छ । यस गीतको लोकप्रियता नेपालमा मात्र सीमित नभई छिमेकी मुलुकहरूमा पनि फैलिएको छ । पाकिस्तानी गायिका सारा राजा खानले पनि यो गीत गाएर सामाजिक सञ्जालमा चर्चा पाएकी थिइन् ।
यस गीतको नयाँ भिडियोले पुरानो संगीतलाई नयाँ पुस्तासम्म पुर्याउने प्रयास गरेको छ । संगीतप्रेमीहरूले यो भिडियो म्युजिक नेपालको आधिकारिक च्यानलमा हेर्न सक्नेछन् ।
