काठमाडौं, फागुन १४ :

काठमाडौँको तार्केश्‍वर नगरपालिका ४, माछापुछ्रेचोकबाट स्कुटर चोरीमा संलग्न एकजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

दोलखाको मेलुङ गाउँपालिका ४ घर भइ काठमाडौंको बालाजु बस्ने २५ वर्षीय कुशाङ गोले तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । बागमती प्रदेश ०२-०४२ प ८३ ०७ नम्बरको स्कुटर काठमाडौंको तार्केश्‍वर नगरपालिका ४, माछापुछ्रेचोकमा चलाइराखेको अवस्थामा तामाङलाई ट्राफिक प्रहरीले सोमबार दिउँसो नियन्त्रणमा लिएको थियो ।

काठमाडौंको टोखा नगरपालिका ५, शिव मन्दिरबाट स्कुटर हराएको भन्दै सीता पाण्डे भुसालले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजीका लागि निवेदन दिएकी थिइन् । नियन्त्रणमा आएका तामाङलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगन्ज पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिए ।

आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेनलक, ह्यान्डिल लक, डिस्क लकलगायत  सुरक्षा साइरन जडान गर्नुका साथै मानिसको आवत-जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्नसमेत प्रवक्ता प्रहरी उपरीक्षक राउतले सम्पूर्णमा अनुरोध गरेका छन् ।

प्रहरीले हराएका सवारीसाधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आए पनि सवारीधनी स्वयं सजग भई सुरक्षित स्थानमा पार्किङ गर्नसमेत अनुरोध गरेको छ । सवारीसाधन हराए ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारीसाधनको विवरणसहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ ।